Logo
Logo

झापा-२ मा पूर्वसभामुख र पूर्वउपसभामुखको भिडन्त निश्चित


693
Shares

काठमाडौं । झापा–२ मा पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा रानामगरबीच रोचक चुनावी भिडन्त हुने निश्चित भएको छ । घिमिरे नेकपा एमालेका उम्मेदवार हुन् भने रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकटबाट चुनावी मैदानमा उत्रिँदै छन् ।

सुरुमा रास्वपाले झापा–२ बाट निशा डाँगीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, इन्दिरा रानामगरले सुरुदेखि नै सोही क्षेत्रबाट उम्मेदवारीको दाबी गर्दै आएकी थिइन् । पार्टी नेतृत्वले उनलाई उदयपुर–२ बाट चुनाव लड्न प्रस्ताव गरे पनि उनले अस्वीकार गरिन् । अन्ततः डाँगीलाई अन्य क्षेत्रमा सार्दै रानामगरलाई झापा–२ को टिकट दिइएको हो । घिमिरे र रानामगर दुवै झापा–२ कै स्थायी बासिन्दा हुन् ।

रानामगर यसअघि समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् । रास्वपाकै तर्फबाट उनी उपसभामुख नियुक्त भएकी थिइन् । तर, उनको कार्यकाल विवादरहित भने रहन सकेन । केही व्यक्तिलाई अमेरिकाको भिसा प्रक्रियाका लागि उपसभामुखको लेटरहेड प्रयोग गरी दूतावासलाई पत्र लेखिएको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन् ।

उता, पूर्वसभामुख घिमिरे कुनै ठूला व्यक्तिगत विवादमा नपरे पनि सभाको सञ्चालनमा निष्पक्षता र सन्तुलन कायम राख्न नसकेको आरोप खेप्दै आएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा चल्ने गरेको आरोपबाट पनि उनी मुक्त हुन सकेनन् । घिमिरे यसअघिको निर्वाचनमा पनि झापा–२ बाटै निर्वाचित भएका थिए ।

आगामी निर्वाचनमा झापा–२ पुराना र नयाँ अनुहार, सत्ता अनुभव र विकल्पको राजनीतिबीचको प्रतिस्पर्धाको केन्द्र बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्