Logo
Logo

बालेनले देश बनाउँछ: रवि लामिछाने


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देश बनाउने क्षमता र विश्वास रहेको बताएका छन्।

सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आमाको तस्बिर हेरेर आत्ममन्थन गर्दा आफूलाई बालेनप्रति गहिरो भरोसा जागेको बताए । “मैले आमाको फोटो हेरेर धेरै सोचें। मलाई लाग्यो, बालेनले देश बनाउँछ। मैले आमालाई पनि भनेँ, आमा बालेनले देश बनाउँछ,” लामिछानेले भने।

उनले देश र जनताको हितका लागि आफू र बालेन एक ठाउँमा उभिएको स्पष्ट पारे। “हामी कुनै स्वार्थका लागि होइन, देश र जनताको हितका लागि मिलेका हौँ,” उनले भने।

लामिछानेका अनुसार आफू र बालेनबीचको वार्ता निकै छोटो समयमा टुंगिएको थियो। “रवि र बालेनबीचको वार्ता पाँच मिनेटमै सकियो। बाँकी समय त एक–अर्कालाई बुझ्न र चिनजान गर्नमै गयो,” उनले बताए।

लामिछानेले आगामी निर्वाचनमा रास्वपा सबैभन्दा धेरै मत ल्याउने दल बनेर संसद्मा प्रवेश गर्ने दाबीसमेत गरे। “हिजो म व्यक्तिगत रूपमा सबैभन्दा धेरै मत ल्याउने सांसद थिएँ। अब रास्वपा सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछ,” उनले भने।

आफूविरुद्ध दायर भएका मुद्दाका कारण प्रायः दैनिकजसो अदालत धाउनुपरेको उल्लेख गर्दै उनले त्यसबाट नडराउने स्पष्ट गरे। “मेरो टाउकोमा लागेका मुद्दाका कारण प्रत्येक दिन कुनै न कुनै अदालत पुग्नुपर्छ। तर मलाई कुनै चिन्ता छैन। जनताको मुद्दा बोकेर हिँड्ने मान्छे त्यस्ता मुद्दा लड्दै जान्छ। जिते जितिन्छ, हारे हारिन्छ,” लामिछानेले भने।

प्रतिक्रिया दिनुहोस्