Logo
Logo

अस्पतालबाटै शव साटिएको घटनामा छानबिन समिति गठन


693
Shares

सिरहा । प्रादेशिक अस्पताल लहानको शवगृहमा पोस्टमार्टमका लागि राखिएको १६ वर्षीया किशोरीको शव साटिएको घटनामा छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।

The current image has no alternative text. The file name is: sab.jpg

इलाका प्रशासन कार्यालय लहानका प्रमुखको संयोजकत्वमा गठित समितिले घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी पाएको छ । घटनाको निष्पक्ष र प्रभावकारी छानबिन सुनिश्चित गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई केही समयका लागि जिम्मेवारीबाट अलग गर्दै बिदामा बस्न निर्देशन दिइएको छ। साथै शवगृहको जिम्मेवारीमा रहेका कर्मचारीलाई पनि जिम्मेवारीबाट हटाइएको प्रशासनले जनाएको छ ।

गोलबजार नगरपालिका–३ निवासी पूर्णबहादुर बानियाकी १६ वर्षीया छोरी निशा माघ १० गते आफ्नै घरको कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय गोलबजारले आवश्यक मुचुल्का गरी सोही दिन शव पोस्टमार्टमका लागि रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहान पठाएको थियो ।

उही दिन सप्तरीको खडक नगरपालिका–१, करर्बोना निवासी १६ वर्षीया राधिका साहको शव पनि पोस्टमार्टमका लागि अस्पताल ल्याइएको थियो । पोस्टमार्टमपछि एउटा शव बाहिर निकालिएको थियो, जसलाई राधिकाको भन्दै उनका आफन्तले बुझेर दाहसंस्कार गरेका थिए । तर पछि उक्त शव राधिकाको नभई निशाको भएको खुलेको हो ।

शनिबार नै शव अस्पताल पुर्‍याइए पनि प्रहरी र अस्पताल प्रशासनले परिवारका सदस्य आएपछि मात्रै पोस्टमार्टम प्रक्रिया अघि बढाइने बताएका थिए । सोमबार बिहान निशाका आमा–बुबा भारतको मुम्बईबाट आएपछि दिउँसो करिब १ बजे पोस्टमार्टमको तयारी गरिएको थियो । तर त्यसक्रममा शवगृहमा रहेको शव निशाको नभई राधिका साहको भएको पुष्टि भएपछि घटना सार्वजनिक भएको हो ।

यससँगै राधिकाकै परिवारले निशाको शव दाहसंस्कार गरिसकेको तथ्य पनि बाहिर आएको छ । घटनापछि पीडित पक्षले न्यायको माग गर्दै पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरी आन्दोलन गरेका थिए। प्रशासनको पहलपछि आन्दोलन फिर्ता लिइएको र सडक यातायात पुनः सुचारु गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्