Logo
Logo

सर्लाही-४ लाई मुलुक कै उत्कृष्ट क्षेत्र बनाउँछु: गगन थापा


252
Shares

सर्लाही । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले आफ्नो क्षेत्रलाई उत्कृष्ट बनाउने बताएका छन् । सर्लाही ४ का मतदातालाई सम्बोधन गर्दै उनले आफ्नो सम्पूर्ण तागत लगाएर क्षेत्रको विकास गर्ने बताए ।

थापाले भने ‘साथीहरूसँग म जोडिन जान्छु । उहाँहरूको तागत म प्रयोग गर्दै जान्छु । अनि बाहिर मैले बनाएको जुन सम्बन्ध छ, त्यो सम्बन्ध बनाएको आधारमा म उनीहरूलाई के भन्ने हो भने । मेरो क्षेत्र यो हो अब । यहाँको शिक्षामा मैले काम गर्नुछ, यहाँको स्वास्थ्यमा मैले काम गर्नुछ, यहाँको कृषिमा मैले काम गर्नुछ । यहाँको खेतमा मैले काम गर्नुछ, सिँचाइमा मैले काम गर्नुछ ।’

आफ्नो राजनीतिक यात्राबारे प्रस्ट पार्दै अझै ८-१० वर्ष सक्रिय राजनीतिमा रहने थापाले बताए । यस अवधिमा सर्लाही ४ लाई उदाहरणीय क्षेत्र बनाउने उनको भनाइ छ।

‘उत्कृष्ट काम गरेको क्षेत्र सर्लाहीको क्षेत्र नम्बर ४ हो भन्ने कुरा मैले बनाउँछु,’ उनले भने, ‘यो कुरामा तपाईँहरू निश्चिन्त भए हुन्छ । किनकि मेरो त भर्खर यात्रा सुरु हुँदैछ ।’

कांग्रेसको सभापति भइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा पार्टी नेतृत्वका लागि पनि आफू सक्रिय रहने बताए। ‘म त भर्खर कांग्रेसको सभापति भएको छु विशेष महाधिवेशनबाट । फेरि कांग्रेसको अधिवेशन गर्नुछ, फेरि मलाई सभापति बन्नुछ, अर्को ८–१० वर्ष त मलाई सक्रिय राजनीतिमा रहनु छ,’ उनले भने।

थापाले शिक्षा, स्वास्थ्य, कृषि र सूचना प्रविधि लगायतका क्षेत्रमा टिम बनाएर काम गर्ने योजना सुनाए। उनका अनुसार टिमहरूले क्षेत्रका समस्या र सम्भावनाबारे अध्ययन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्