Logo
Logo

भुइँको टिप्न खोज्दा खल्तीको पोखिने खतरा


शरद् रिजाल

378
Shares

फागुन २१ को चुनाव सन्निकट आएसँगै मुलुक पूर्णतया निर्वाचनमय भएर नेपाली राजनीतिमा अनेकौँ परिदृश्य देखापरेको छ । यो विगतजस्तो आवधिक निर्वाचन मात्रै नभएर जेनजी विद्रोहको परिणामस्वरूप २ वर्ष अगावै हुन लागेको प्रतिनिधिसभा निर्वाचन हो । त्यसकै उपज यसले नेपालको राजनीतिमा बहुआयामिक प्रभाव पार्ने आकलन गरिएको छ ।

निर्वाचन नजिकिएसँगै भदौ २३ र २४ गतेको जेनजी विद्रोहलाई अनेकौँ कोणबाट व्याख्या विश्लेषण गरिँदै त्यसकै आधारमा अहिले नेपालको राजनीति मुख्यतः दुई ध्रुवमा बाँडिएको छ । भदौ २३ गतेको दमन र त्यसले निम्त्याएको २४ गतेको विध्वंस दुवैप्रति हर्ने दृष्टिकोण अलग–अलग छन् । र, त्यसकै आधारमा नेपाली समाज कित्ताकृत भइरहेको छ ।

आगामी ८४ सालमा नियमित प्रक्रियाबाट हुने निर्वाचन ८२ मा गराउन मात्रै जेनजी विद्रोह भएको होइन । यसको मूल उद्देश्य भ्रष्टाचार र बेथितिमुक्त मुलुक निर्माण गरी देशलाई सुशासनको लयमा फर्काउनु थियो । तर त्यो विद्रोह पछिका परिघटना भने सोही अनुरूप अघि बढ्न नसक्दा त्यत्रो नवयुवाको बलिदानी फगत निर्वाचन प्रयोजनका लागि मात्रै भए जसरी घटनाक्रम विकसित हुँदै गएको छ । यद्यपि, आगामी निर्वाचनपश्चात् जेनजी विद्रोहकै पक्षधर शक्ति विजयी भएर त्यसलाई कार्यान्वयन गर्ने शंकाको सुविधा भने बाँकी नै छ ।

मुलुकमा जति पटक निर्वाचन भए पनि मूल समस्या यथावत् रहेकाले यस निर्वाचनले भने त्यस दुष्चक्रबाट मुक्त गराउने आम जनअपेक्षा छ । नयाँ र वैकल्पिक शक्तिका रूपमा उदाएका दलहरूले त्यो पूरा गर्ने अपेक्षासहित अधिकांश मतदाताहरूको मनोविज्ञान त्यतै ढल्किएको देखिन्छ ।

वर्षौँदेखिको कुशासनबाट आजित भएका जनताहरूले यसपालि विकल्पको रूपमा नयाँ र वैकल्पिक भनिने दलहरूलाई छनोट गर्ने परिस्थिति पैदा भइरहँदा पुराना दलहरू भने आफ्नो साख जोगाउन भगीरथ प्रयत्न गरिरहेका छन् । लोकतान्त्रिक व्यवस्थामा जनताबाट अनुमोदित हुने प्रमुख माध्यम निर्वाचन नै हो । दलीय एजेन्डाका आधारमा जनताले आफ्नो प्रतिनिधि चयन गर्नुपर्ने बेला नेपाली समाजमा भने अमुक नायक खोज्ने पुरानै प्रवृत्तिको पुनरावृत्ति भइरहेको छ । विगतदेखि नै नायक खोज्ने नेपाली समाजको मनोविज्ञान यसपटकको निर्वाचनमा झनै प्रखर रूपमा मुखरित भएको छ ।

नेपालको राजनीतिमा हरेक एक दशकमा नायक खोज्दै अमुक पात्रप्रति अतिशयोक्तिपूर्ण अपेक्षा राखेर देवत्वकरण गर्ने र त्यो पूरा नभए फेरि दानवीकरण गर्ने विगतदेखिकै परम्परा बन्दै आएको छ । ७ सालको क्रान्तिपछि बिपी कोइरालालाई नायकत्व प्रदान गरेको नेपाली समाजले ३० को दशकमा राजा महेन्द्रलाई नायकको उपमा दियो । र, त्यसपछि ५० को दशकमा गिरिजा प्रसाद कोइरालालाई नायकत्व प्रदान गरेको नेपाली समाजले ६० को दशकमा प्रचण्डलाई नायकको रूपमा चित्रण गर्न पुग्यो । फेरि ७० को दशकमा केपी ओलीलाई राष्ट्रवादी नेताको पगरी गुथाएर नायकको उपमा दिएको नेपाली समाज अहिले फेरि अर्को नयाँ नायकको खोजीमा भौँतारिएको छ ।

यसरी मूल समस्या यथावत् रहने तैपनि हरेक दशकमा नयाँ–नयाँ अमुक पात्रहरूलाई नायक बनाउँदै परिवर्तनको अपेक्षासहित भौँतारिने दुर्दशायुक्त अवस्था भोग्न नेपालीजन अझैसम्म अभिशप्त छौँ । अहिले फेरि नेपाली मनोविज्ञान नयाँ र पुरानोको भाष्य सिर्जना गरेर पुराना खराब र नयाँले तत्कालै कायापलट गर्ने अपेक्षासहित नयाँ नायकको खोजीतर्फ उद्यत छ ।

यसपालिको निर्वाचनमा होमिएका नयाँ र पुराना दुवै दलले मुलुकको अस्थिर राजनीतिक प्रणालीको अन्त्य गर्ने नीतिगत एजेन्डा प्रस्तुत गरेका छैनन् । हालको चुनावी प्रणाली नै अस्थिर राजनीतिको कारक रहेकाले विगतमा एकल सरकार बन्न सकेन । जनताले यसअघि दुई वाम दल एक हुँदा एकल सरकार चलाउने अवसर दिए पनि नेतृत्वको आन्तरिक किचलोले ती दल विभाजित हुँदा जनअपेक्षा अनुरूप परिणाम हासिल हुन सकेन ।

अहिले फेरि तिनै दलहरूले निर्वाचन प्रणालीलाई दोषारोपण गरेर मतदाता समक्ष पाँच वर्षे सरकारको नेतृत्व गर्ने अवसर नपाउँदा जनताको पक्षमा काम गर्न नपाएको भन्दै उम्मेदवारी दिएका छन् । तर त्यो आफ्नै कारणले सिर्जित समस्या भएकाले त्यसलाई सुधार्ने अठोट र विगतका गल्तीको आत्मसमीक्षा भने गरेका छैनन् । बरु एक अर्कालाई गालीगलौज गर्दै मत बटुल्ने ध्याउन्नमा लागेका छन् ।

नयाँ भनिने दलहरू समेत आफ्ना दलीय एजेन्डा भन्दा पनि सामाजिक सञ्जालमार्फत आर्जन गरेको लोकप्रियतालाई नै चुनाव जित्ने अस्त्र बनाएका छन् । अहिले सामाजिक सञ्जालकै प्लेटफममा प्रकाशित एवं प्रसारित सामग्रीको भरमा धारणा बनाउने मनोवृत्ति नेपाली समाजमा विकास भएको छ । एल्गोरिदम मार्फत लोकप्रियता हासिल गर्ने भयावह परिस्थिति निर्माण हुनु निकै गम्भीर विषय हो ।

आजभोलि भावनात्मक उत्तेजना र भड्कावपूर्ण अभिव्यक्ति नै लोकप्रियता आर्जन गर्ने प्रमुख माध्यम बन्ने निकै डरलाग्दो दृश्यले नेपाली समाजलाई आक्रान्त पारेको छ । आम जनमानसमा आफ्नो विवेक प्रयोग गरेर धारणा बनाउने भन्दा पनि आवेगसहित भीडको पछि कुद्ने र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको छ ।

यसरी सामाजिक सञ्जालमार्फ धारणा बनाउने प्रवृत्तिकै उपज धरातलीय यथार्थता नबुझेरै हरेक सत्यलाई झुट ठान्ने र झुटलाई सत्य ठान्ने मनोरोगबाट नेपाली समाज ग्रसित बन्दै गएको छ । यसकै दुष्प्रभावस्वरुप निर्वाचनको सन्निकट नेपाली समाजमा पुराना दललाई उपेक्षा र नयाँप्रतिको अन्धपक्षधरता प्रकट गर्ने अस्वस्थ प्रतिस्पर्धा नै चलेको छ ।

मुलुक बनाउने भनेको राजनीतिक एजेन्डा र दृष्टिकोणले हो, प्रतिशोधपूर्ण उपेक्षा र अन्धपक्षधरताले होइन । राज्यका संरचनाहरु पूर्णतः स्वायत्त र सक्षम नबनाएसम्म परिणाममुखी काम गर्न नसकिने नेताहरू आफैँ बताउँदै आएका छन् । तर त्यसको सुधारतर्फ कुनै पनि दलको ध्यान गएको छैन । बरु यस विपरीत प्रतिस्पर्धी दल र नेताका अक्षमता औँल्याएर आलोचना गर्दै आफू सही बन्ने प्रवृत्ति मौलाएको छ । भावनात्मक भड्काव र उत्तेजनात्मक अभिव्यक्तिकै आधारमा निर्वाचन जित्ने होडबाजी जिम्मेवार राजनीतिक दलका लागि किमार्थ शोभनीय कार्य होइन ।

विद्यमान संकट निवारण गर्ने एजेन्डाका आधारमा नभई पुराना दलहरूप्रतिको असन्तुष्टिलाई निर्वाचन जित्ने माध्यम बनाउनु नयाँको आवरणमा पुरानै दलीय चरित्रको निरन्तरता मात्रै हो । यसले विद्यमान समस्या निराकरण गर्नुको साटो झनै बढाउने निश्चित छ ।

मुलुकको वर्तमान संकटमोचनको स्पष्ट मार्गचित्रबिना अरूको कमजोरी देखाएर आफू सही बन्ने प्रपञ्च नयाँको आवरणमा जनतालाई पुनः गुमराहमा राखेर सत्तारोहण गर्ने पुरानै कुटिल चाल बाहेक अरू केही होइन । यसले नेपाली जनतामा व्याप्त नायक खोजेर मुलुक परिवर्तनको अपेक्षा राख्ने अतृप्त मनोकांक्षा पूरा गर्ने भन्दा पनि ‘भुइँको टिप्न खोज्दा खल्तीको पोखिए’ जसरी आगामी दिनमा झनै निराशा बढाउने खतरातर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्