Logo
Logo

तीन जिल्ला र १८ क्षेत्रमा निर्वाचनको कमान्ड महिलाको हातमा


567
Shares

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ मुख्य निर्वाचन अधिकृत र १८ निर्वाचन अधिकृतको कमाण्ड महिलाले सम्हालिरहेका छन् । बागलुङमा न्यायाधीश सीता शर्मा अधिकारी, मकवानपुरमा गीता श्रेष्ठ र सिन्धुपाल्चोकमा रीताकुमारी बख्रेलले जिल्लामा निर्वाचन गराउने मुख्य जिम्मेवारी पाएका छन् ।

जिल्लामा एक–एक गरी ७७ मुख्य निर्वाचन अधिकृत छन्, जसमा महिला भने तीन जना मात्रै छन् । मुख्य निर्वाचन अधिकृतले सदरमुकाम रहेको निर्वाचन क्षेत्रमा चुनाव गराउने र जिल्लाका अन्य निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतसँग समन्वय गर्ने जिम्मेवारी हुन्छ ।

मकवानपुरमा श्रेष्ठले मकवानपुर–१ र बख्रेलले सिन्धुपाल्चोक–१ हेर्नुपर्छ, ती क्षेत्रमा छुट्टै निर्वाचन अधिकृत हुँदैनन् । यसपालि १८ निर्वाचन अधिकृत महिला छन् । उनीहरूले सम्बन्धित निर्वाचन क्षेत्र हेर्नुपर्छ । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ९ वटामा निर्वाचन अधिकृत महिला छन् ।

काठमाडौं–१ भने मुख्य निर्वाचन अधिकृत रहेका जिल्ला न्यायाधीश चुरामन खड्काकै जिम्मामा छ । काठमाडौं–२ मा शान्ति न्यौपाने, काठमाडौं–३ मा चमिला भट्टराई, काठमाडौं–४ मा मा कृष्णा भण्डारी, काठमाडौं–५ मा श्रद्धा रिजाल र काठमाडौं–६ मा चपला पोखरेल निर्वाचन अधिकृत छन् । काठमाडौं–७ मा सविता शर्मा, काठमाडौं–८ मा सम्झना खनाल, काठमाडौं–९ मा मेनुका घिमिरे र काठमाडौं–१० मा अमृताकुमारी शर्मालाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।

ललितपुरमा पनि ३ निर्वाचन क्षेत्रमध्ये दुई वटामा निर्वाचन अधिकृत महिला छन् । ललितपुर–१ मा इशा सुवेदी र ललितपुर–२ मा सम्झना सिम्खडा पुडासैनी निर्वाचन अधिकृत छन् । ललितपुर–३ भने मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले नै हेर्छन् ।

भक्तपुर–२ मा राधिका सुवाल, पर्सा–४ मा नूतन झा, सिन्धुली–१ मा निमा घिमिरे, कास्की–१ मा सीता रेग्मी, कास्की–२ मा निर्मलाकुमारी खड्का, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा इन्दुदेवी न्यौपाने र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा सीता अधिकारीले निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्