आमनिर्वाचनको घडी नजिकिँदै छ । मिति जति नजिकिन्छ, राजनीतिक दलका नेताहरूको दौडधूप उति नै चर्किँदै गएको छ । घरदैलो कार्यक्रमले गाउँ–सहर भरिएका छन् । सिंगो देश नै चुनावी रंगमञ्चमा परिणत भएको छ । तर यो दौड नीति–सिद्धान्तको होइन, न त देश बनाउने गम्भीर बहसको नै हो । दलहरू एजेन्डा बिर्सिएर फन्डामा रमाइरहेका छन् । विचारको ठाउँ दृश्यले, योजनाको ठाउँ नाटकले र प्रतिबद्धताको ठाउँ चर्तिकलाले ओगटेको छ । सबैलाई सत्ता चाहिएको छ । त्यसैले ‘के गर्ने ?’ भन्दा ‘कसरी देखिने ?’ भन्ने प्रश्न नै प्रधान बनेको छ ।
प्रतिस्पर्धा देश कसरी बनाउने भन्नेमा हुनुपर्ने हो । समाजका विकृति कसरी हटाउने, अर्थतन्त्र कसरी उकास्ने, युवालाई देशमै कसरी रोक्ने भन्ने विषयमा बहस चर्किनुपर्ने हो । तर दलहरूको ध्यान त्यसतर्फ गएको देखिँदैन । मतदाताको मन जित्न नेताहरू जस्तोसुकै नाटक मञ्चन गर्न तयार छन् । हिजो पनि गरे, आज पनि गरिरहेका छन् । र, जनता सचेत नहुँदासम्म यस्ता चुनावी नौटंकीहरू बारम्बार दोहोरिइरहनेछन् ।
यसपटकको चुनावी प्रचार झनै अनौठो देखिएको छ । उम्मेदवारहरू राजनीतिक पात्रभन्दा कलाकारझैँ प्रस्तुत हुन थालेका छन् । कोही नौटंकी देखाइरहेका छन्, कोही भावुकता बेचिरहेका छन् । चुनावी फन्डा अब सडक र चौकमा मात्र सीमित छैन । ‘फिजिकल’ सँगसँगै ‘डिजिटल’ संसारमा पनि यो उत्तिकै उग्र बनेको छ । सामाजिक सञ्जाल चुनाव जित्ने मुख्य हतियारका रूपमा प्रयोग भइरहेको छ ।
यही चुनावी रंगमञ्चमा ऋषि धमला छुट्टै अध्याय बनेर उभिएका छन् । प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट रौतहट ४ का उम्मेदवार बनेका धमलाको चुनावी अभियान दृश्यात्मक रूपमा अझै विचित्र देखिन्छ । कतै जेरी पकाइरहेका छन्, कतै काठ चिर्दैछन् । कतै साइकल चलाउन सिक्दैछन्, कतै ट्याक्टर चढेर भोट माग्दैछन् । कतै अंगालो हाल्छन्, कतै आफैँलाई लगाइदिएको माला फुकालेर अरूको घाँटीमा झुण्ड्याइदिन्छन् ।
किसानको उखुबारीमा उखुको भारी बोकेर ‘मै काम करुँगा’ भन्दै हिन्दी–नेपाली मिश्रित लवजमा आश्वासन बाँडिरहेका छन् । संवेदनशील देखिन बिरामीको शय्यामा पुगेर आँसु झार्न पनि उनी पछि पर्दैनन् । धमलाको सबलता र दुर्बलता एउटै हो– उनको अविचलित स्वभाव । कसले के भन्छ भन्ने कुराले उनलाई छँुदैन । आज उनी त्यही मुस्कान र उट्पट्याङ शैलीसहित रौतहटको धुलो उडाउँदै हिँडिरहेका छन् । परिणाम जे आए पनि, चुनावी रौनकलाई ‘भाइरल’ बनाउन उनले कुनै कसर बाँकी राखेका छैनन् ।
धमलाको चटकेशैली नुवाकोट २ का उम्मेदवार अच्युतम लामिछानेले पनि पछ्याएका छन् । रास्वपाबाट उम्मेदवार बनेका उनी फूलको माला र राष्ट्रिय झण्डा ओढेर भोट माग्दै हिँडिरहेका छन् । ‘नझुक्किनुहोला, छोरो आयो, नाति आयो’ भन्दै सडकमै ढोग्ने उनको शैली धेरैका लागि अनौठो बनेको छ ।
सबैभन्दा भिन्न शैली भने पूर्वमन्त्री तथा वैज्ञानिक महावीर पुनको छ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पुनले चुनावी भाषणभन्दा किताब बेच्न प्राथमिकता दिएका छन् । उनका लागि यो चुनाव पशुपतिको यात्रा, सिद्राको व्यापार बनेको छ ।
यता, जेनजी आन्दोलनबाट उदाएका रास्वपाका गोरखा १ का उम्मेदवार सुदन गुरुङ पनि मतदाताको मन जित्न भारी बोकेर प्रचारमा निस्किएका छन् । यी सबै त प्रारम्भिक झाँकी मात्र हुन् । मतदान नजिकिँदै जाँदा नाचगान, कृत्रिम ढोगभेट र चटकेशैली अझै देखिन बाँकी नै छ ।
विडम्बना के छ भने आम जनजीवनसँग गाँसिएका आधारभूत सवालमा कसैको ध्यान पुगेको छैन । चुल्हो बल्छ कि बल्दैन ? धारामा पानी आउँछ कि आउँदैन ? किसानले समयमा मल पायो कि पाएन ? युवाले देशमै भविष्य देख्छ कि देख्दैन ? बिरामी पर्दा अस्पताल पुग्ने हैसियत छ कि छैन ? यस्ता प्रश्नहरू चुनावी बहसबाट योजनाबद्ध रूपमा बेपत्ता पारिएका छन् ।
पाँच वर्षसम्म एउटा साधारण फोनसम्म नउठाउने नेताहरू चुनाव नजिकिँदै जाँदा एकाएक ‘सर्वव्यापी’ अवतारमा देखापर्छन् । जसको घरमा जे पाकेको छ, त्यहीँ थाल थाप्छन् । बुढी आमैको खुट्टा ढोग्छन्, सानो नानीलाई काखमा बोकेर फोटोसेसन गराउँछन् । त्यो अभिनय यति गहिरो हुन्छ कि लाग्छ उनी नेता होइनन्, भर्खरै धर्तीमा अवतरण गरेका कुनै अवतार हुन् ।
उनीहरू यति धेरै पुल बनाउने वाचा गर्छन् कि कहिलेकाहीँ त खोला नभएको ठाउँमा समेत पुल ठड्याइदिने हुन् कि जस्तो लाग्छ । सपना यति रंगीन देखाइन्छ कि जनताका लागि चन्द्रमासमेत झारिदिने दाबी सुनिन्छ । सुकुम्बासीलाई महल, बेरोजगारलाई डलरको खेती र गाउँ–गाउँमा सिंगापुर पु¥याउने भाषण सुन्दा लाग्छ जादुको छडी त वास्तवमै ‘चुनाव चिन्ह’ भित्रै लुकेको रहेछ ।
चुनावी भाषणहरू सुन्दा लाग्छ, देश होइन, स्वर्ग निर्माण हुँदैछ । जित्नेबित्तिकै रोजगारी वर्षिनेछ, भ्रष्टाचार सुक्नेछ, विकास दौडिनेछ । तर इतिहासले बारम्बार सम्झाइरहेको छ–चुनावी वाचा भनेको पानीमा लेखिएको अक्षर हो । जितिसकेपछि नेताहरूको स्मरणशक्ति कमजोर हुन्छ, फोन नेटवर्क अचानक बिग्रिन्छ ।
चुनावअघि सार्वजनिक गरिने ‘घोषणापत्र’ पढ्दा कुनै महान् साहित्यकारको काल्पनिक उपन्यास पढिरहेको अनुभूति हुन्छ । तर, त्यो दस्तावेज यति क्षणभङ्गुर हुन्छ कि चुनाव सकिएपछि न लेख्नेलाई सम्झना रहन्छ, न पढ्नेलाई काम लाग्छ । यसको आयु ठ्याक्कै मतदान केन्द्रको मसी नसुक्दासम्म मात्र टिक्छ ।
सबैभन्दा दुःखद पक्ष के छ भने यो चर्तिकला अब असामान्य होइन, सामान्य भइसकेको छ । जनता रिसाउँछन्, गुनासो गर्छन्, तर फेरि उही नाटक हेर्न बाध्य हुन्छन् । चुनाव लोकतन्त्रको उत्सव हुनुपर्ने हो, तर हामीकहाँ यो नेताहरूको महान् अभिनय प्रतियोगिता बनेको छ, जहाँ पुरस्कार सत्ता हो र यसको मूल्य जनता आफैँले तिर्छन् ।
चुनाव आउँछ, नेताहरू फेरिन्छन्, वाचाहरू दोहोरिन्छन् । तर जनताको डोको र नाम्लो भने जस्ताको तस्तै रहन्छ । नेताहरूका लागि चुनाव ‘उत्सव’ हो, कार्यकर्ताका लागि ‘खेती’ हो, तर आम जनताका लागि भने यो अझै पनि एउटा ‘आशाको जुवा’ नै बनेर रहिरहेकै छ ।











