
कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा राजनीतिक दलहरूले आफ्नो साङ्गठनिक उपस्थिति र प्रचार अभियानलाई वडा तहसम्म विस्तार गरेका छन् । युवा मतदातालाई लक्षित गर्दै दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । मुख्य प्रतिस्पर्धी दलहरूले सम्पर्क कार्यालय स्थापना, वडा संयोजकको नियुक्ति तथा घरदैलो अभियानलाई तीव्र बनाएसँगै चुनावी माहोल थप उत्साहजनक बनेको छ ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत प्रमुख दलहरूले तीनवटै निर्वाचन क्षेत्रअन्तर्गत रहेका नौ स्थानीय तहका ९२ वटै वडामा सम्पर्क कार्यालय खोलेर प्रचारप्रसारलाई तीव्र पारेका छन् ।
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ (२) का सभापति करनसिंह ऐरका अनुसार तीनवटै निर्वाचन क्षेत्रका वडा तहमा प्रचारप्रसार कार्यालय उद्घाटन गरी अभियान अघि बढाइएको छ । चुनावी अभियानलाई तल्लो तहसम्म व्यवस्थित बनाउन महासमिति सदस्यदेखि तरुण दल र क्रियाशील सदस्यहरूलाई परिचालन गरिएको छ ।
कांग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा गोपिप्रसाद उपाध्याय, निर्वाचन क्षेत्र नं २ मा पूर्वमन्त्री एनपी साउद र निर्वाचन क्षेत्र नं ३ मा हरिप्रसाद बोहरा उम्मेदवार रहेका छन् । नेकपाले पनि वडागत संयन्त्र र प्रचारप्रसार कार्यालय स्थापना गरी अभियानलाई तीव्र बनाएको प्रचारप्रसार उपसमितिका संयोजक महेशदत्त जोशीले जानकारी दिए ।
नेकपाका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री बिना मगर, निर्वाचन क्षेत्र नं २ मा माधवप्रसाद पन्त र निर्वाचन क्षेत्र नं ३ मा मानबहादुर सुनार उम्मेदवार रहेका छन् ।
त्यसैगरी, नेकपा (एमाले)ले पनि वडा तहसम्म चुनावी संयन्त्र गठन विस्तार गरी प्रचारप्रसार अघि बढाएको छ । एमाले जिल्ला सदस्य जगतबहादुर सिंहका अनुसार उम्मेदवारलाई जिताउन कार्यकर्तालाई जिम्मेवारीसहित परिचालन गरिएको छ । एमालेका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा तारा लामा तामाङ, निर्वाचन क्षेत्र नं २ मा बचनबहादुर सिंह र निर्वाचन क्षेत्र नं ३ मा डा दीपकप्रकाश भट्ट उम्मेदवार रहेका छन् ।
तीनवटै निर्वाचन क्षेत्रमा मुख्य राजनीतिक दलहरू र नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । रास्वपाले उम्मेदवारसहितको घरदैलो अभियानलाई निरन्तरता दिँदै युवाहरूलाई सङ्गठित गरेर प्रचारप्रसारलाई तीव्र बनाएको छ । रास्वपाका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा जनकसिंह धामी, निर्वाचन क्षेत्र नं २ मा दीपकराज बोहरा र निर्वाचन क्षेत्र नं ३ मा ज्ञानेन्द्रसिंह महता उम्मेदवार रहेका छन् ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने वडावडामा मतदातासँग समूहगत अन्तक्र्रिया तथा छलफल गर्दै चुनावी एजेन्डा प्रस्तुत गरिरहेको छ । अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पनि घरदैलो अभियानलाई अगाडि बढाएका छन् ।
यसपटकको निर्वाचनमा सबै राजनीतिक दलहरूको मुख्य ध्यान युवा मतदातातर्फ केन्द्रित देखिएको छ । बेरोजगारी समस्या समाधान, गुणस्तरीय शिक्षा र सूचना प्रविधिमा आधारित विकासका एजेन्डा प्रस्तुत गर्दै उम्मेदवारहरूले युवालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । ‘युवा परिवर्तन चाहन्छन्, त्यसैले हाम्रो प्राथमिकता उनीहरूको भविष्यसँग जोडिएका योजनामा केन्द्रित ’, नेकपा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद पन्तले भने, ‘आफू पनि युवा भएकाले युवाका मागलाई शिरोधार्य गर्दै अघि बढिरहेका छौँ ।’
चुनावी सरगर्मी बढेसँगै कञ्चनपुरका चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र एजेन्डाबारे बहस सुरु भएको छ । वडा तहमा स्थापना गरिएका सम्पर्क कार्यालयले मतदातालाई उम्मेदवारसँग सिधा संवाद गर्ने वातावरण बनाएको स्थानीय मतदाताको भनाइ छ ।
जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये ४४ जना विभिन्न राजनीतिक दलका तर्फबाट र ११ जना स्वतन्त्र उम्मेदवार छन् ।











