काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले नयाँ मतदाताहरूलाई मतदाता परिचयपत्र वितरणको तयारी तीव्र पारेको छ ।

केही महिनाअघि मात्र नाम दर्ता गराएकाहरूले मतदान गर्नका लागि यो परिचयपत्र अनिवार्य हुने आयोगले जनाएको छ । नयाँ पुस्तालाई मतदाता नामावलीमा समेट्न आयोगले विशेष अभियान सञ्चालन गरेको थियो । राष्ट्रिय परिचयपत्र भएकाहरूले अनलाइनबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था गरेपछि धेरै युवा मतदाता थपिएका थिए ।
निर्वाचन घोषणा भएपछि खुला गरिएको अभियानमा ८ लाख ३७ हजार ९४ जनाको नाम थपिएको छ । यसमध्ये ४ लाख ९२ हजार १८० जनाले राष्ट्रिय परिचयपत्र प्रयोग गरी अनलाइन आवेदन दिएका थिए भने बाँकीले निर्वाचन कार्यालयमा गएर फारम भरेका थिए ।
अनलाइन आवेदन दिनेहरूलाई आयोगले एसएमएसमार्फत दर्ता सफल भएको जानकारी र मतदाता परिचयपत्र नम्बर पठाएको थियो । यी नयाँ मतदाताहरूको नाम सम्बन्धित मतदान केन्द्रको नामावलीमा समावेश गरिसकिएको छ ।
आयोगले अब मतदाता परिचयपत्र छपाइ र वितरणको काम अगाडि बढाएको छ । निर्वाचन घोषणापछि थपिएका करिब ८ लाख ३७ हजारका साथै २०७९ को निर्वाचनपछिका अन्य समयमा नाम दर्ता गराएकाहरू गरी कुल १० देखि ११ लाख मतदातालाई परिचयपत्र वितरण गर्नुपर्नेछ ।
परिचयपत्र तयार भएपछि आयोगले सार्वजनिक सूचना जारी गरी वितरण प्रक्रिया खुलाउने छ । सामान्यतया परिचयपत्र दुई तरिकाबाट बाँडिनेछ । पहिलो, सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट र दोस्रो, मतदान केन्द्रमा खटिने कर्मचारीले मतदानको २–३ दिनअघि वितरण गर्न सक्नेछन् ।
यदि कुनै कारणवश परिचयपत्र तयार नभएमा आयोगले छुट्टै निर्णय गरी नामावलीमा नाम भएकाहरूलाई अन्य वैधानिक परिचयपत्र (जस्तै नागरिकता) का आधारमा मतदान गर्न दिने व्यवस्था गर्न सक्छ । यसैबीच, आयोगले फोटोसहितको मतदाता नामावली छपाइ गरी जिल्लाहरूमा पठाइरहेको छ । पहिलो खेप पठाइसकिएको छ भने बाँकी तीन खेप छपाइ भइरहेको छ । यी नामावली अन्य निर्वाचन सामग्री तथा मतपत्रसँगै पठाइनेछन् ।











