
काठमाडौं । गृह मन्त्रालयले भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिन सहमति प्रदान गरेको छ ।
ब्यूरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५ को कूल ४ आना २ पैसा १ दाम भएको जग्गा र सो जग्गामा बनेको भवन काठमाडौं महानगरपालिकाले प्रयोग गर्नेगरी मन्त्रालयले सहमति दिएको हो ।
आइतबार दुई पक्षबीच भएको छलफलबीच सो सहमति भएको गृह मन्त्रालयका उपसचिव वर्तराज पौडेलले जानकारी दिए ।
उनका अनुसार त्यसको बदलामा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा सरकारको नाममा दर्ता गर्न महानगर सहमत भएको छ ।
उपसचिव पौडेलका अनुसार, उक्त जग्गा नेपाल सरकारको नाममा दर्ता भइसकेपछि कूल क्षेत्रफलमध्ये कम्तीमा ८ आना जग्गा समरजंण कम्पनी कार्यालयका लागि प्रयोग गरिने र बाँकी जग्गा नेपाल प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ ।











