काठमाडौं । यही २० माघ मंगलबार नेपालका केही भेगमा फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भेगमा मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना छ। लुम्बिनी, बागमती र कोशी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का हिउँ र पानी पर्न सक्ने अनुमान गरिएको छ।
त्यसैगरी सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराई भू(भागका एक–दुई ठाउँमा छिटपुट पानी पर्ने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले हिमाली र उच्च पहाडी भेगमा मध्यम खालको हिउँ र पानी पर्ने स्थानलाई पहेँलो रंगले संकेत गर्दै सावधानी अपनाउन अनुरोध गरेको छ।
माघ महिनामा हिउँ र पानी पार्ने प्रणाली नेपालभित्रिएको यो तेस्रो पटक हो। यसअघि ९–१० माघ र १३–१४ माघमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हिउँ र पानी परेको थियो। २० माघदेखि प्रभाव देखाउने प्रणाली अघिल्ला प्रणालीभन्दा केही कमजोर रहेको मौसमविद् पौडेलले बताए।
उनी भन्छन्, “अघिल्लो हप्ताको तुलनामा यस प्रणालीबाट धेरै हिउँ र पानी पर्ने सम्भावना कम छ।”
मंगलबारको प्रणाली पछि २१ माघ बुधबारदेखि मौसम क्रमिक सुधारतर्फ जान्छ ।
जल तथा मौसम विज्ञान विभागका रेकर्ड अनुसार, नेपालमा हिउँद अवधि सामान्यतया मंसिर १६ देखि फागुन १५ सम्म रहन्छ र यस अवधिमा सरदर करिब ६० मिलिमिटर पानी पर्ने गर्दछ। तर यस वर्ष मंसिर १६ देखि १३ माघसम्म मात्र ३।६ मिलिमिटर पानी परेको छ, जसले हिउँद ऋतु केही सुक्खा रहेको देखाउँछ।











