Logo
Logo

रविको राहदानीसम्बन्धी मुद्दा न्यायाधीश मल्ल र निरौलाको इजलासमा


693
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ ।

युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर गरेको रिटमा सुनुवाइका लागि न्यायाधीशद्धय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानूनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए ।

यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको छ । २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो । अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको र उक्त निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइ हुन लागेको हो ।

तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए । सफलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश पनि माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको उनले जिकिर गरेका छन् ।

राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलले दाबी गरेका छन् ।

लामिछानेले उक्त राहदानी कुन–कुन समयमा के कुन प्रयोजनका लागि प्रयोग गरेका (दुरुपयोग गरेका) थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने उनको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्