
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आफ्नो क्षेत्रका नेता, कार्यकर्ता तथा मतदातासँग क्षमा माग्दै चिठी पठाउन थालेका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ–५ बाट उम्मेदवार बनेका डा. कोइरालाले चिठी पठाउँदै आफूले न्याय गर्न नसकेको भए क्षमा गर्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘मलाई निस्वार्थ भावबाट यसरी राष्ट्रिय जिम्मेवारीमा पठाउँदा मैले यस क्षेत्रका आफ्ना प्यारा दाजुभाइ, दिदीबहिनीहरूप्रति न्याय गर्न सकेको छैन भने म अन्तस्करणबाट क्षमाप्रार्थी छु ।’
डा. कोइरालाले पठाएको चिठीमा फेरि एक पटक उम्मेदवार बनेर आएको उल्ल्खेख गर्दै आफूलाई एक पटक फेरि विश्वास गरेर मत दिन आग्रह गरेका छन् । डा. कोइराला यसअघि २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।












