झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पछिल्लो समय देशव्यापी चुनावी अभियानमा सक्रिय देखिएका छन्। कोशी प्रदेशका पहाडी जिल्लाबाट सुरु गरेर सुदूरपश्चिम र कर्णाली प्रदेश हुँदै सोमबार पुनः आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा आइपुगेका छन् ।

चुनावी प्रचारप्रसारका लागि सोमबार बालेन्द्रसहितको टोली झापा गएको उनका सल्लाहकार कुमार बेनले बताए । शाह देश दौडाहमा रहेका बेला झापा– ५ मा उनकी पत्नी सबिना काफ्लेले घरदैलो जारी राखेकी छिन् । गृहजिल्लामा फर्किएसँगै उनी मतदाता भेटघाट, घरदैलो अभियान र स्थानीय मुद्दामा केन्द्रित कार्यक्रमहरूमा सक्रिय हुने तयारीमा छन्।
शाहले सुरुमा कोशी प्रदेशका पहाडी जिल्लाहरूको यात्रा गर्दै स्थानीय नागरिक, युवाहरू र कार्यकर्तासँग प्रत्यक्ष संवाद गरेका थिए। विकासका असमानता, रोजगारीको अभाव, शिक्षा र स्वास्थ्य सेवामा देखिएको पहुँचको समस्या उनका संवादका मुख्य विषय बने। पहाडी भूगोलमा सम्भावना हुँदाहुँदै पनि राज्यको ध्यान नपुगेको गुनासो सुन्दै उनले ‘स्थानीय आवश्यकता अनुसारको नीति र इमानदार नेतृत्व’ रास्वपाको प्राथमिकता रहेको स्पष्ट पारे।
कोशी पहाडको यात्रापछि बालेन्द्र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पुगे। यी दुवै प्रदेशलाई लामो समयदेखि राज्यका विकास योजनामा पछाडि पारिएको क्षेत्रका रूपमा लिइन्छ। त्यहाँको भ्रमणका क्रममा उनले सडक, स्वास्थ्य, शिक्षा र रोजगारीका सवालमा नागरिकका पीडा नजिकबाट बुझे।
स्थानीय अगुवा, किसान, महिला समूह र युवाहरूसँगको भेटघाटमा उनले भने, ‘राजनीति सत्ता प्राप्तिको मात्र साधन होइन, जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने माध्यम हुनुपर्छ।’ उनका यी अभिव्यक्तिले वैकल्पिक राजनीतिप्रति आशा राख्ने मतदातालाई उत्साहित बनाएको देखिन्थ्यो।











