काठमाडौँ । नेपाल आयल निगमले पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावप्रति गम्भीर ध्यान दिएको जनाएको छ ।

निगमले बजारलाई सामान्य अवस्थामा फर्काउन तुरुन्त कदम चाल्दै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अपिल गरेको छ। निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट देशभरका उद्योग र उपभोक्तालाई मासिक रूपमा उपलब्ध गराइने एलपी ग्यासको नियमित कोटा ४९,५०० मेट्रिक टन रहेको छ ।
विगत तीन महिनामा आयात परिमाण यसप्रकार रहेको छ-
नोभेम्बर २०२५ – ४७,२६४ मेट्रिक टन
डिसेम्बर २०२५ – ४८,५३१ मेट्रिक टन
जनवरी २०२६ – ४७,३०४ मेट्रिक टन
निगमले भने, जाडोयामको माग धान्न यी परिमाण पर्याप्त भए पनि हालको बजार अवस्था र आउँदो निर्वाचनलाई ध्यानमा राख्दै फेब्रुअरी २०२६ का लागि नियमित कोटामा २ हजार मेट्रिक टन थप गरेको छ ।
थप कोटासहितको ‘बोटलर्स वाइज एलोकेसन’ इन्डियन आयलका रिफाइनरी तथा बोटलिङ्ग प्लान्टहरूमा पठाइसकिएको निगमले जानकारी दिएको छ । हाल ग्यास सिलिन्डरको अभाव केही उद्योगहरूमा मात्रै देखिएको र तिनीहरूलाई आपूर्ति सहज बनाउन निर्देशन दिइसकिएको निगमले जनाएको छ ।
निगमले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न हार्दिक अनुरोध गरेको छ ।











