
हिजोआज हरेक व्यक्तिको मोबाइलमा केपी शर्मा ओलीको फोटो र हस्ताक्षरसहित ‘भ्रम चिरौँ’ भन्ने सन्देशलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ पु¥याइएको छ । उक्त ‘सन्देश’मा भाद्र २३ को दिन मैले गोली चलाउने आदेश दिएको छैन । म र एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न आग्रह गर्दछु’ भनिएको छ । यसै सन्देशले पनि भदौ २३ गते भएको १९ बालबालिकाको हत्याले उनलाई कति पोलेको रहेछ भन्ने उनको मनोविज्ञानबाट बुझिन्छ ।
भदौ २३ गते देशको प्रधानमन्त्री पदमा केपी शर्मा ओली थिए । उनले सामाजिक सञ्जाल बन्द गरेपछि लाखौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सुसूचित हुने र अभिव्यक्ति स्वतन्त्रताबाट वञ्चित भए । त्यही आक्रोशमा स्कुले विद्यार्थीहरू माइतीघरमा जम्मा भए र शान्तिपूर्ण ¥यालीसहित नयाँबानेश्वर पुगे । उनीहरूको एउटै माग सामाजिक सञ्जाल अविलम्ब खोल्नुपर्ने, भ्रष्टाचारीमाथि कारबाही गर्नुपर्ने र देशमा सुशासन कायम गर्नुपर्ने थियो । यो पूरा गर्न नसकिने माग थिएन । तर सरकारले उनीहरूको माग पूरा गर्नेभन्दा पनि चैत १५ गते जस्तै आन्दोलन दमन गर्ने सोच बनायो । त्यही सोचले देशमा यति ठूलो विद्रोह जन्मायो । र, दुई तिहाइको सरकार क्षणभरमै गल्र्यामगुर्लुम ढल्यो ।
त्यस दिन विद्यार्थीहरूको शान्तिपूर्ण जुलुस माइतीघरबाट नयाँबानेश्वरतर्फ अगाडि बढेको घटनाको रिपोर्टिङ प्रधानमन्त्री, गृहमन्त्रीलगायत सबैलाई सुरक्षा निकायले गराइरहेको थियो । यदि, तत्कालै सरकारले सामाजिक सञ्जाल खोलिदिएको भए, देशमा यति ठूलो दुर्घटना निम्तने थिएन । तर, सरकारले त्यस दिन दमनको नीति मात्र लिएन, उल्टै १९ जना विद्यार्थीहरूको हत्या हुने गरी गोली चलायो । गोली टाउको र छातीमा लागेकोले घटनास्थलमा १९ जना स्कुले विद्यार्थीको हत्या भयो । त्यो दिन विद्यार्थीहरूको हत्या नभएको भए भदौ २४ को घटना घट्ने थिएन ।
त्यति मात्र होइन, भदौ २३ गते विद्यार्थीहरूको हत्या हुँदासमेत सरकारलाई कुनै चिन्ता लागेन उल्टै बेलुकी सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारहरूलाई दिएको रुखो प्रतिक्रियाबाट पनि सरकार थप दमनको तयारीमा थियो भन्ने बुझिन्छ । १९ जना विद्यार्थीको हत्यापछि देशमा यति ठूलो विद्रोह होला भन्ने अनुमानसमेत ओलीले गरेका थिएनन् । तर यस कुराको संकेत सुरक्षा निकायले उनलाई गराएका थिए ।
ओली सेनाको सहयोगमा भदौ २४ गते पनि ठूलै नरसंहार मच्चाउने ‘मुड’मा थिए । सुरक्षाकर्मीहरुसँगको बैठकमा उनको प्रस्तुति उत्तेजक देखिन्थ्यो । तर सेनाले बुद्धि पु¥याएकोले सिंहदरबार, संसद्, शीतलनिवास, सर्वोच्च अदालतलगायतका भवनहरू मात्र जले, सयौँको सङ्ख्यामा आन्दोलनकारीहरू हत्या हुनबाट जोगिए । यदि, भदौ २४ गते ठूलो नरसंहार भएको भए, त्यसपछि आक्रोशको निशाना नेपाली सेना पनि हुन सक्थ्यो ।
सेनाले बुद्धि पु¥याएकैले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूलगायतले ज्यान जोगाउन सके । त्यसो नगरिएको भए आन्दोलनको आँधीबेहरीले कति दिनसम्म देशमा अराजकता मच्चिने थियो होला । तर, सेनाले तत्कालै परिस्थिति नियन्त्रणमा लिएर देशलाई शान्तिपूर्ण निकास दिने बाटोमा पु¥याए । यदि, यो वातावरण नबनेको भए स्वयं केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी घोषणा गर्ने अवसर पाउने थिएनन् । स्थिति यतिसम्म बिग्रन्थ्यो कि कसैले सम्हाल्न सक्ने अवस्थामा हुने थिएन । धन्न दुईदिने आन्दोलनपछि स्थिति सामान्य बन्दै गयो ।
मैले पटकपटक यसै स्तम्भमा लेख्ने गरेको छु, जेनजी विद्रोहबाट भागेर गएका शासकहरू फेरि फर्केर सत्तामा आएको इतिहास छैन । जेनजी विद्रोहबाट ओली मात्र होइन, विश्वका धेरै देशका तानासाहहरू भागेका छन्, उनीहरूमाथि आजन्म कारावासदेखि मृत्युदण्डसम्मका फैसला भएका छन् । धन्न, प्रधानमन्त्री सुशीला कार्कीको मन कोमल भएर हो कि जेनजी विद्रोहका हत्याराहरू खुलमखुला निर्वाचनको मैदानमा उत्रिएका छन् र भन्दैछन्– ‘भ्रममा नपरौँ’, ‘म हत्यारा होइन ।’
उसो भए भदौ २३ गते १९ जना विद्यार्थीको ज्यान जाने गरी हत्या हुँदा सरकारमा को थियो ? तीन तीनपटक प्रधानमन्त्री भइसकेका व्यक्तिले यसको नैतिक जिम्मेवारी लिनु पर्छ, पर्दैन ? गोली प्रहरीले चलाउने हो । त्यसको जिम्मा मैले लिँदैन भनेर भन्न पाइन्छ ? जिम्मा नलिने व्यक्ति किन प्रधानमन्त्रीको कुर्सीमा बस्ने ? कुनै पनि आन्दोलन दमन गर्न राष्ट्रपति वा प्रधानमन्त्री आफैँ बन्दुक बोकेर गोली चलाउन हिँड्दैन । यति सामान्य कुरा पनि सचेत नागरिकले बुझ्दैन भनेर ‘मैले गोली चलाएको होइन’ भन्नु चोरको खुट्टा काट् भन्दा उचाले’जस्तै हो । यसको जवाफ आगामी निर्वाचनमा जनताले दिने नै छन् ।











