
काठमाडौं । मुलुकमा भदौ २३ र २४ गते भएको दुईदिने ‘जेन–जी’ आन्दोलनले सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिमा पुस्तान्तरणको ठुलो बहस छेडिदिएको छ । यही बदलिएको मनोविज्ञानको धरातलमा फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा ५ जना अर्थराजनीतिक विज्ञहरू चुनावी मैदानमा उत्रिएका छन् ।
जसले यो निर्वाचन केवल राजनीतिक दलहरूको शक्ति सन्तुलनको लडाइँ मात्र नभई ‘विज्ञता’ र ‘पपुलिजम’ बीचको रोचक परीक्षण पनि बन्दैछ । कसैका लागि यो पहिलो अनुभव हो भने कोही यसअघि पनि प्रतिस्पर्धा गरिसकेका छन् । मतदाताले विज्ञतालाई रोज्नेछन् वा पुरानै दलीय ढर्रालाई, त्यो हेर्न बाँकी नै छ ।
खोटाङः डा. हरि रोकाको नयाँ ‘पारी‘
नेपाली अर्थराजनीतिको क्षेत्रमा स्थापित हो नाम डा. हरि रोका । जसले भारतको जेएनयूबाट विद्यावारिधि गरेका छन् । यसपटक उनी खोटाङबाट प्रतिनिधिसभा सदस्यका लागि पहिलो पटक मैदानमा छन् । समाजवादी अर्थराजनीतिको पैरवी गर्ने रोका नेपाली कम्युनिष्ट पार्टी ‘नेकपा’ का उम्मेदवार हुन् ।
०७९ को निर्वाचनमा त्यहाँ कांग्रेसको समर्थनमा माओवादीका रामकुमार राईले ३१ हजार ३५१ मत ल्याएर जितेका थिए भने एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मत पाएका थिए । यसपटक एमालेबाट देवबिक्रम राई र कांग्रेसबाट वीरकाजी राई मैदानमा आउँदा रोकाका लागि दलीय मतको अंकगणित मिलाउन निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । त्यहाँ रास्वपा र श्रम संस्कृति पार्टीको प्रभाव पनि मुख्य तीन दलका लागि चुनौती बन्न सक्छ ।
प्युठानः प्रा. डा. गोविन्दराज पोखरेलको पुनरागमन प्रयास
नवीकरणीय ऊर्जा र वित्त क्षेत्रका विज्ञ प्रा. डा. गोविन्दराज पोखरेल प्युठानबाट कांग्रेसको उम्मेदवार छन् । जर्मनीबाट विद्यावारिधि गरेका पोखरेलले योजना आयोगको उपाध्यक्ष र पुनर्निर्माण प्राधिकरणको नेतृत्व सम्हालिसकेका छन् ।
०७४ मा पराजित पोखरेलका लागि यसपटक पनि बाटो सहज छैन । ०७९ मा त्यहाँ एमालेका सूर्यबहादुर थापा क्षत्री ४१ हजार ११८ मत ल्याएर विजयी भएका थिए । एमालेको समानुपातिक मत कांग्रेस र माओवादीको भन्दा दोब्बर रहेको यो क्षेत्रमा पोखरेलले एमालेका थापा, नेकपाका कृष्णध्वज खड्का र रास्वपाका सुशान्त वैदिकसँग चारपक्षीय प्रतिस्पर्धा गर्नुपर्नेछ ।
रोल्पाः डा. सुदन वलीलाई विरासतको चुनौती
मानवीय पुँजी निर्माण र स्थानीय अर्थतन्त्रका विज्ञ डा. सुदन वली रोल्पाबाट कांग्रेसको उम्मेदवार छन । चीनबाट विद्यावारिधि गरेका वलीसँग संघीय र प्रादेशिक निकायमा नीति विज्ञका रूपमा काम गरेको अनुभव छ । तर, उनको प्रतिस्पर्धा नेकपाका प्रभावशाली नेता वर्षमान पुनसँग छ ।
०७९ मा पुनले ४१ हजार ७१४ मत ल्यार विजयी हुँदा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत मात्र पाएका थिए । नेकपाको पकड कांग्रेस र एमालेको भन्दा दोब्बर बढी रहेको यो क्षेत्रमा वामपन्थी मत आकर्षित गर्नु वलीका लागि मुख्य चुनौती हो ।
तनहुँ-१ः डा. स्वर्णिम वाग्लेको साख जोगाउने परीक्षा
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित अर्थशास्त्री डा. स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ–१ मा पुनः मैदानमा छन् । ०८० को उपनिर्वाचनमा ३४ हजार ९१९ मत ल्याएर विजयी भएका वाग्लेले कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गरेका थिए ।
यसपटक पुनः भट्टराईसहित एमालेकी भगवती न्यौपाने र नेकपाका विद्यानाथ ढकाल उनका प्रतिस्पर्धी छन् । कांग्रेसमा भएको नेतृत्व परिवर्तन र आन्तरिक एकताले वाग्लेका लागि यसपटकको प्रतिस्पर्धा अघिल्लो उपनिर्वाचन जस्तो सहज नहुन सक्छ ।
नुवाकोट-१ः डा. प्रकाशशरण महतको कसिलो प्रतिस्पर्धा
अर्थशास्त्रमा विद्यावारिधि गरेका र पूर्व अर्थमन्त्री भइसकेका डा. प्रकाशशरण महत नुवाकोट–१ बाट कांग्रेसको उम्मेदवार छन् । ०७९ मा यो क्षेत्रबाट नेकपाका हितबहादुर तामाङले २६ हजार ५४८ मत ल्याएर जित्दा एमालेका बद्री मैनालीले २३ हजार ४६५ मत ल्याएका थिए ।
रास्वपाका प्रद्युम्न महत क्षेत्रीले पनि ६ हजार ११३ मत ल्याएको यो क्षेत्रमा एमाले, कांग्रेस र नेकपाको समानुपातिक मत झण्डै बराबर छ । यसले डा. महतका लागि जित निकाल्न निकै कठिन हुने संकेत गर्दछ ।











