
काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वसनीय हुनुपर्नेमा जोड दिएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि छनोट भएका निर्वाचन पर्यवेक्षकहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आयुक्त डा. तुलाधरले निर्वाचन आयोगसँग सहकार्य गर्दै निर्वाचन प्रक्रियाको पर्यवेक्षण र अवलोकन गर्ने जिम्मेवारी पाएका राष्ट्रिय संस्थाहरूको भुमिका सह्रानीय रहेको उल्लेख गरे । उनले निर्वाचन पर्यवेक्षणका क्रममा प्रचलित कानून, नियम, निर्देशिका तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिए ।
पर्यवेक्षकहरू कुनैपनि राजनीतिक दल, उम्मेदवार वा सरोकारवाला पक्षको प्रभाव, आग्रह वा दबाबमा नपरी तटस्थ रहनुपर्नेमा उनको विशेष जोड छ । व्यक्तिगत धारणा, पूर्वाग्रह वा अनुमानका आधारमा निष्कर्ष ननिकाली तथ्यमा आधारित भएर मात्र पर्यवेक्षण गर्न उनले आग्रह गरे । अपुष्ट, अपूर्ण र भ्रामक सूचना सार्वजनिक हुँदा निर्वाचनको विश्वसनीयतामा गम्भीर असर पर्ने भन्दै उजले पर्यवेक्षकहरूलाई सञ्चार र सूचना प्रवाहमा शतर्क रहन सचेत गराए ।
निर्वाचन आयोगले पर्यवेक्षकहरूलाई केवल अवलोकनकर्ताको रूपमा मात्र नभई लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण साझेदारका रूपमा लिएको उनको भनाइ थियो । निर्वाचन प्रक्रियालाई अझ पारदर्शी र जनउत्तरदायी बनाउन उच्च नैतिकताका साथ आफ्नो भूमिका निर्वाह गर्न उनले सबैमा आह्वान गरे ।











