
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको रौतहट-१ पनि रहेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राजदेवी नगरपालिका, गौर नगरपालिका, माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका, गरुडा नगरपालिकाको वडा १ र गढीमाई नगरपालिकाको वडा नम्बर ६, ७ र ८ रहेका छन् ।
निर्वाचन आयोगका अनुसार रौतहट-१ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको सङ्ख्या एक लाख ८ हजार ७२६ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १३२ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन-२०७९
२०७९ सालको निर्वाचनमा रौतहट-१ बाट तत्कालीन एकीकृत समाजवादीबाट माधवकुमार नेपाल विजयी भएका थिए । काँग्रेस र तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनाव लडेका नेपालले ३३ हजार ५२२ मत प्राप्त गरेका थिए ।
त्यस्तै दोस्रो भएका नेकपा एमालेका अजय कुमार गुप्ताले भने २६ हजार ९२२ मत पाएका थिए ।
२०७९ मा समानुपातिकतर्फ नेपाली काँग्रेसले सर्वाधिक १९ हजार ११९ मत प्राप्त गरेको थियो भने एमालेले ११ हजार ८९, एकीकृत समाजवादीले ९ हजार ५७८, जसपा नेपालले ६ हजार ९३५, जनमतले ६ हजार २८८, तत्कालीन माओवादी केन्द्रले २ हजार ७९१ मत प्राप्त गरेको थियो ।
उम्मेदवार-२०८२
यस निर्वाचनमा रौतहट-१ राजनीतिक दल र स्वतन्त्र गरेर ३९ उम्मेदवार रहेका छन् । यस पटक नेकपाबाट माधवकुमार नेपाल उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली काँग्रेसले अनिल कुमार झालाई उम्मेदवार बनाएको छ । लोसपा छोडेर नेपाल सदभावना पार्टीलाई पुनर्जीवित गरेका झा अन्तिम समयमा काँग्रेसमा प्रवेश गरेर उम्मेदवार बनेका छन् । त्यस्तै यस क्षेत्रमा एमालेले अजय कुमार गुप्तालाई यस पटक पनि उम्मेदवार बनाएको छ । त्यसैगरी यस क्षेत्रमा रास्वपाले राजेश कुमार चौधरीलाई उम्मेदवार बनाएको छ भने जसपा नेपालले योगेन्द्र राय यादवलाई र जनमतले देवेन्द्र मिश्रलाई उम्मेदवार बनाएको छ ।
माधव नेपाललाई चौतर्फी चुनौती
यस निर्वाचनमा माधव नेपाललाई गार्हो हुने देखिएको छ । गत निर्वाचनमा काँग्रेससँगको गठबन्धनका कारण जित हासिल गरे पनि यस पटक सबै दल अलग अलग उम्मेदवार भएकाले नेपालको स्नाक्त बढेको हो । माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनाएपछि पनि गत निर्वाचनको समानुपातिकको हेर्दा दुवै दलको कुल मत ११ हजार रहेको छ । सो मत सबै पाएपनि जितका लागि पर्याप्त हुने देखिदैन । त्यसैले यस निर्वाचनमा रौतहट- १ मा एमाले र काँग्रेसको प्रतिस्पर्धा हुने देखिएको छ ।
गत निर्वाचनमा एक्लै चुनाव लड्दा पनि एमालेका अजय कुमार गुप्ताले २६ हजारभन्दा बढी मत प्राप्त गरेकाले उनी यस चुनावमा राम्रो अवस्थामा देखिएका छन् । साथै जसपा नेपाल र जनमतका उम्मेदवारले कति मत प्राप्त गर्छन् भन्नेमा पनि यस क्षेत्रको चुनावको नतिजा आउने देखिन्छ ।











