Logo
Logo

हाइटेरा र अडिडेलद्वारा सुरक्षा निकायलाई सञ्चार प्रविधि सहयोग


441
Shares

काठमाडौँ। विपद् प्रतिकार्य तथा खोज र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वव्यापी सञ्चार प्रविधि कम्पनी हाइटेरा र यसको नेपालस्थित स्थानीय साझेदार अडिडेलले नेपालका सुरक्षा निकायहरूलाई करोडौँ रुपैयाँ बराबरका आधुनिक सञ्चार उपकरण तथा प्रविधि हस्तान्तरण गरेका छन् ।

व्यावसायिक तथा अत्यावश्यक सञ्चार प्रणालीमा विश्वव्यापी छवि बनाएको हाइटेराले ९० भन्दा बढी देशमा सेवा प्रदान गर्दै आएको छ भने नेपालमा अडिडेलमार्फत दूरसञ्चार, पूर्वाधार, साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्ता (AI) लगायतका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । यस सहयोगअन्तर्गत सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अत्याधुनिक सञ्चार प्रविधि हस्तान्तरण गरिएको छ ।

सहयोग स्वरूप उपलब्ध गराइएका प्रविधिहरूमा बडी-वर्न क्यामेरा (Body-Worn Camera), पुस-टु-टक ओभर सेलुलर (PoC) रेडियो र ई-प्याक (E-Pack) पोर्टेबल रिपिटर लगायतका अत्याधुनिक हार्डवेयर तथा सफ्टवेयर समावेश छन् । यी उपकरणहरूको प्रयोगले विभिन्न सञ्चार माध्यमहरूलाई एकीकृत गरी केन्द्रीय कमाण्ड सेन्टर स्थापना गर्न मद्दत पुग्नेछ ।

प्राकृतिक विपद्का कारण सामान्य सञ्चार पूर्वाधार क्षतिग्रस्त वा सेवाविहीन भएको अवस्थामा ई-प्याक रिपिटरले अस्थायी रेडियो नेटवर्क स्थापना तथा विस्तार गर्न सहयोग पुर्‍याउनेछ ।

त्यस्तै, PoC रेडियोले सेलुलर नेटवर्कमार्फत फराकिलो क्षेत्रमा टोलीहरूबीच समूहगत सञ्चार र लोकेसन ट्र्याकिङ सहज बनाउनेछ भने बडी-वर्न क्यामेराले फिल्डमा खटिएका सुरक्षाकर्मीका अडियो-भिडियो गतिविधि रेकर्ड गर्नुका साथै कमाण्ड सेन्टरमा प्रत्यक्ष (लाइभ) प्रसारण गर्न सक्नेछ । भूकम्प, बाढी, पहिरो तथा हिमाली उद्धारजस्ता विषम परिस्थितिमा परम्परागत सञ्चार प्रणाली अवरुद्ध हुँदा यी प्रविधिहरू उद्धारकर्मीका लागि अत्यन्त उपयोगी हुने विश्वास गरिएको छ।

हस्तान्तरण गरिएका कुल उपकरणको मूल्य १० करोड रुपैयाँभन्दा बढी रहेको दाबी गरिएको छ । उपकरण हस्तान्तरण कार्यक्रममा दक्षिण कोरियाको सोलस्थित हाइटेराका एसिया क्षेत्रीय प्रमुख निङ मा तथा अडिडेलका अध्यक्ष सञ्जय प्रधानलगायत कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्