काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक कोशी प्रदेशको मोरङ- ६ पनि रहेको छ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला यस पटक पनि यस क्षेत्रबाट उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

मोरङ क्षेत्र नम्बर ६ मा बुढीगङ्गा गाउँपालिका, सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर २ देखि वडा नम्बर ७ सम्म र विराटनगर महानगरपालिकाका वडा नम्बर ४ देखि ७ सम्म र वडा नम्बर ९ , ११ र १२ वडा समेटिएको छ ।
निर्वाचन आयोगका अनुसार मोरङ९ ६ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको सङ्ख्या एक लाख ३७ हजार ८३२ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १४९ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन-२०७९
२०७९ को आम निर्वाचनमा यस क्षेत्रबाट काँग्रेसका डा.शेखर कोइरालानै निर्वाचित भएका थिए । कोइरालाले ३५ हजार २२४ मत प्राप्त गर्दै विजयी भएका थिए । त्यस्तै दोस्रो स्थानमा रहेका एमालेका लालबाबु पण्डितले २२ हजार ९४६ मत पाएका थिए । त्यस्तै रास्वपाका यादव कुमार प्रधानले ९ हजार १४० र राप्रपाका गोपाल क्षेत्रीले ८ हजार ९२५ मत प्राप्त गरेका थिए ।
त्यस्तै २०७९ को निर्वाचनको समानुपातिकतर्फ यस क्षेत्रमा सबैभन्दा बढी नेपाली काँग्रेसले २३ हजार ७१० मत पाएको थियो भने एमालेले १९ हजार ३८९ मत प्राप्त गरेको थियो । त्यस्तै रास्वपाले ११ हजार ५२६ मत प्राप्त गरेको थियो भने राप्रपाले १० हजार ६४१ मत पाएको थियो । त्यसैगरी तत्कालिन माओवादी केन्द्रले ८ हजार १८५ मत पाएको थियो ।
उम्मेदवार-२०८२
यस निर्वाचन क्षेत्रबाट राजनीतिक दल र स्वतन्त्र गरेर १७ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।काँग्रेसले यस क्षेत्रमा फेरी एक पटक डा. शेखर कोइरालालाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपा एमालेले यस पटक विनोद ढकाललाई उम्मेदवार बनाएको छ भने नेकपाले ओपेंद्र कुमार रायलाई उम्मेदवार बनाएको छ । त्यस्तै रास्वपाले यस क्षेत्रमा रुबिना आचार्यलाई टिकट दिएको छ भने राप्रपाले सबिन निरौलालाई उम्मेदवार बनाएको छ ।
शेखरलाई छैन सहज
गत निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनका कारण शेखर कोइरालालाई धेरै हदसम्म चुनाव जित्न सहज भएको थियो । यस पटक सबै दल आमने सामने रहेकाले उनलाई अघिल्लो चुनाव जस्तो सहज हुने देखिएको छैन । यद्यपि उनी चुनाव जित्ने प्रबल सम्भावना भएका नेता हुन् । काँग्रेसको विशेष महाधिवेशनमा उनले खेलेको तटस्थ भूमिकाका कारण पार्टी भित्र र बाहिर उनको आलोचना भइरहेको र देशभर परिवर्तनको मुद्दा उठिरहेका कारण उनलाई धेरै हदसम्म असर हुने भने देखिएको छ ।
त्यस्तै एमालेमा अध्यक्ष केपी शर्मा ओलीका कडा विरोधीको पहिचान बनाएका विनोद ढकाललाई यस क्षेत्रबाट उम्मेदवार बनाइएको छ । यस अर्थमा एमालेका ओली समर्थकले ढकाललाई कसरी सहयोग गर्छन् भन्ने आधारमा पनि यस क्षेत्रको नतिजा के हुन्छ भन्ने तय हुने छ । त्यस्तै देशभर देखिएको लहरको फाइदा यस क्षेत्रमा रास्वपालाई हुने देखिएको छ तर त्यो चुनाव जित्ने तहसम्म भइहालेको अहिलेसम्मको वातावरणले देखिएको छैन । त्यस्तै यस क्षेत्रमा राप्रपाको पनि सम्मानजनक मत रहेको छ ।











