काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरेमा भएको हत्या घटनामा संलग्न २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
ओखलढुंगा प्रहरीले ८१ वर्षीय चन्द्र विक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राई हत्याको आरोपमा ३४ वर्षीय धनबहादुर रानामगर र उनका नाबालक १७ वर्षीय भाईलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरेर आज (आइतबार) सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक (इन्सपेक्टर) विक्रमबहादुर भट्टराईले अदालतबाट म्याद थप गरि आरोपीलाई सार्वजनिक गरेको जानकारी दिएका छन् । इन्सपेक्टर भट्टराईका अनुसार ओखलढुङ्गा जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) तथा डाँका चोरी शीर्षक मुद्धामा म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।
माघ १२ गते राई दम्पतीको घरैभित्र लुटपाटपछि हत्या गरिएको थियो । घटना भएको १३ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
राई दम्पतीको हत्याअघि सोही वडामा मगर दम्पतीको भएको थियो । उक्त घटनामा संलग्नलाई प्रहरीले सार्वजनिक गरि कारागार चलान गरिसकेको छ । सोही समूहले त्यसअघि सिद्धिचरण नगरपालिका–४ चार्खुमा ५२ वर्षीया एकल महिलाको पनि हत्या गरेका थिए ।











