काठमाडौँ । यो हामी राउटेले बनाएको भाँडो हो, यसको नाम कोशी आरी हो । तपाईँले जे खानेकुरा राख्न सक्नुहुन्छ । असाध्यै राम्रो छ । मूल्य रु एक हजार मात्र,” सुदूरपश्चिमका दीपक राउटेले जानकारी दिए ।

राष्ट्रिय सभागृहमा आजदेखि सुरु भएको आदिवासी जनजाति ज्ञान सम्मेलनमा राउटेहरुले आफूले बनाएका भाँडा बिक्रीका लागि राखेका थिए । तर दीपकका अनुसार, भाँडा बिक्री हुने अपेक्षाभन्दा धेरै, आगन्तुकहरूले भाँडासँग फोटो खिच्न रुचाएका छन् ।
“हाम्रो चाहना धेरैभन्दा धेरै भाँडा बिक्री गर्नु थियो, तर किन्नेभन्दा फोटो खिच्नेको भीड बढी छ,” दीपकले बताए । आगन्तुकहरूले राउटेहरुसँग अनौठा प्रश्नहरु सोध्दै थिए “तपाईँ कहाँको राउटेरु तपाईँको नाम के होर? तपाईँले लगाएको लुगा कसले बनाएकोर? ”
सुदूरपश्चिमका चार जना राउटेहरूले ७० वटा कोशी (काठको भाँडो) बिक्रीका लागि ल्याएका थिए । दीपकले बताएअनुसार, उनीहरू राउटे परम्पराअनुसार नगद लिन हिच्किचाउँछन् । “सहरमा भने नगद नलिई सम्भव नहुने रहेछ। अब पैसा न छोए कसरी बाँचिन्छ? ” दीपकले अनुभव सुनाए ।
दीपक र उनका साथीहरूलाई सहरको भीडभाड, कोलाहल र बहुलोलाई स्वीकार्न गाह्रो भइरहेको छ । उनी भन्छन्, “सहरका मान्छे धेरै बोल्छन् । हामीलाई झर्को लाग्छ।”
सम्मेलनमा राउटे समुदायसहित विभिन्न जनजाति समुदायका कला, संस्कृति, परिकार, रहनसहन र खानपान प्रदर्शित गरिएको छ । संयुक्त राष्ट्र सङ्घको कृषि तथा खाद्य सङ्गठन (एफएओ) नेपालले परम्परागत खाद्य प्रवद्र्धन गर्न कोदो, फापर, मकै, गहुँजस्ता अन्नबालीको नमूना प्रदर्शन गरेको थियो । एफएओका कार्यक्रम प्रमुख मधुकुमार विश्वकर्माले स्वास्थ्यवद्र्धक र पौष्टिक आहारको सन्देश दिन यस प्रदर्शन गरिएको बताए ।











