काठमाडौं । समाजवादी प्रेस सङ्गठन, नेपालले शिव ढुंगानामाथि समाचारको विषयलाई लिएर केही व्यक्तिहरूले धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्गठनका केन्द्रीय सचिव समेत रहेका ढुङ्गानालाई समाचारको विषयलाई लिएर टेलिफोन र म्यासेन्जरमार्फत निरन्तर धम्की दिइरहनु निन्दनीय कार्य भएको सङ्गठनले जनाएको छ । सङ्गठनले प्रेश विज्ञप्ति जारी गर्दै भनेको छ, ‘समाचारप्रति असहमति भए कानुनी प्रक्रिया छन् । तर, समाचारको विषयलाई लिएर दिइने धम्की, डर, त्रास र दबाब कुनै पनि हालतमा स्वीकार्य छैन ।’
सङ्गठनले पत्रकार ढुङ्गानाको सुरक्षाको प्रत्याभूति गराउन र निर्बाध रूपमा पत्रकारिता गर्ने वातावरण बनाउन स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा भनिएको छ, ‘टनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग सङ्गठन जोडदार माग गर्दछ । प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि धावा नबोल्न सङ्गठन चेतावनी दिन चाहन्छ । अन्यथ, सङ्गठन आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिन चाहन्छौँ । सम्पूर्ण श्रमजीवी पत्रकारको सुरक्षा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्न चाहन्छौँ ।’












