Logo
Logo

सनम हत्या प्रकरण : सुन तस्करीका मुख्य नाइके गोरेलाई थप १० वर्ष कैद सजाय


819
Shares

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणका प्रमुख योजनाकार ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत मोरङले १० वर्ष कैद सजाय सुनाएको छ ।

मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै नयाँ सजाय तोकेको हो ।

आइतबार आएको फैसलाअनुसार मुख्य अभियुक्त गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद सजाय सुनाइएको हो ।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले माघ २० गतेदेखि निरन्तर सुनुवाइ गरेका थिए । जिल्ला अदालत मोरङले उप्रेतीलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो ।

उच्चले जिल्ला अदालतबाट जन्मकैद (२० वर्ष) तोकिएका केही प्रतिवादीहरूको सजाय भने घटाएको छ । नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीलाई १०-१० वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालतले उनीहरूलाई २० वर्ष कैद तोकेको थियो ।

कर्तव्य ज्यान मुद्दामा मतियार मदन सिलवालको हकमा जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले ३ वर्ष कैद सजाय सुनाएको छ । लाक्पा शेर्पा र भविन तामाङका हकमा जिल्लाकै फैसला सदर भएको छ ।

करिब ३८ क्विन्टल सुन तस्करीसँग जोडिएको संगठित अपराध र भन्सार चोरी निकासीसम्बन्धी मुद्दामा उच्च अदालतले सबै प्रतिवादीको हकमा दाबी नपुग्ने ठहर गरेको छ । जिल्ला अदालतबाट सफाइ पाएका पूर्वप्रहरी अधिकारी र व्यापारीहरूको हकमा उच्च अदालतले जिल्लाकै फैसला सदर गरेको छ ।

२०७४ माघ ९ गते दुबईबाट जहाजमा तस्करी गरी ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकालेपछि हराएको थियो । त्यही सुन खोज्ने क्रममा गोरेसहितले २०७४ फागुन १८ गते उर्लाबारी-१ निवासी सनम शाक्यलाई करेन्ट लगाएर ज्यान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्