Logo
Logo

वीरगञ्जमा व्यापारी र सुरक्षाकर्मीबीच झडप, ३ जना सशस्त्र प्रहरी घाइते


2.3k
Shares

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ।

राजस्व छलीको विशेष सूचनाका आधारमा गरिएको छापाका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ। झडपमा तीन जना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन्।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा बल तथा वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीका अनुसार आदर्शनगरमा प्रमोदकुमार कानुले सञ्चालन गरेको ‘बबिता इन्टरप्राइजेज’ नामक गोदाममा विशेष सूचनाका आधारमा सशस्त्रसहितको टोली पुगेको थियो।

टोलीले गोदाममा खानतलासी सुरु गर्नासाथ स्थानीय व्यापारीहरूले कडा विरोध जनाएका थिए। व्यापारीहरूले आफूहरूसँग सामानको स्पष्ट बिलबिजक रहेको दाबी गर्दै विनाकारण दुःख दिइएको आरोप लगाएका छन्। बिल देखाउँदा समेत सामान नियन्त्रणमा लिन खोजिएपछि अवस्था तनावग्रस्त बनेको उनीहरूको भनाइ छ।

सशस्त्र प्रहरीका अनुसार आक्रोशित व्यापारीहरूको समूहले ढुङ्गामुढा गरेपछि झडपको स्थिति सिर्जना भएको हो। ढुङ्गा प्रहारका कारण सशस्त्र प्रहरीले प्रयोग गरेको गाडीको अगाडिको सिसा फुट्नुका साथै तीन जना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन्।

छापामारीका क्रममा सशस्त्र प्रहरीले गोदामबाट पाँच पोका साडी, कुर्ता–सुरुवालसहितका कपडाजन्य सामग्री नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुमानअनुसार नियन्त्रणमा लिइएको सामानको मूल्य करिब पाँच लाख रुपैयाँ बराबर रहेको बताइए पनि विस्तृत विवरण र यकिन परिमाण भने हालसम्म सार्वजनिक गरिएको छैन।

हाल नियन्त्रणमा लिइएका सामानको लगत संकलन र मुचुल्का उठाउने कार्य भइरहेको छ। गोदामको स्वामित्व र सामान वैध हो वा होइन भन्ने विषयमा थप अनुसन्धान जारी रहेको नायब उपरीक्षक अधिकारीले जानकारी दिए। घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया दिनुहोस्