काठमाडौं । फागुन २१ गते हुने निार्वाचनका लागि भारत सरकारले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी करिब सात गाडी दिएको छ ।

भारत सरकारल प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई ६ सय ५० वटा गाडी अनुदान सहयोगस्वरूप उपलब्ध गराएको छ भने नेपाली सेनालाई छुट्टै ५० वटा गाडी उपलब्ध गराएको छ ।
तीमध्ये ५ सय ३८ वटा गाडी नेपाल आइसकेका छन् भने भारतीय सेनाले भारत–नेपाल सीमा क्षेत्रको निगरानी गर्न नेपाली सेनालाई ५० वटा सैन्य प्रयोजनका गाडी दिने भएको छ ।
गृहमज्न्त्रालय अनुसार निर्वाचन प्रयोजनका लागि आएका गाडीहरु काठमाडौँमा आयोजना हुने औपचारिक कार्यक्रममा नेपालका लागि भारतीय राजदूतमार्फत औपचारिक रूपमा प्रदान गरिने भएको छ । नेपाल सेनाको क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धताको प्रतीक भएको भारतीय सेनाले जनाएको छ ।
गृहमन्त्रालयका अनुसार भारतले प्रदान गरेका गाडीहरूमध्ये महिन्द्रा कम्पनीका स्कार्पियो र बोलेरो जीपलगायतका हल्का सवारीसाधन नेपाल आइपुगेका छन् । बाँकी १ सय १२ वटा ठूला तथा हेभी गाडीहरू आउने क्रममा रहेका छन् । अब आउनेमा सुरक्षा निकायले प्रयोग गर्ने ट्रकहरू रहेका छन् ।
यो सहयोग पूर्णतः अनुदानमा आधारित भएको र निर्वाचन प्रयोजनका लागि दिइएको हो । भारतले अनुदानमा दिएका गाडीहरु अर्थ मन्त्रालयले आवश्यक भन्सार तथा कर छुटको सहजीकरण गरिसकेको छ ।
अब यी गाडीहरूको प्रयोग, सञ्चालन र व्यवस्थापनको सम्पूर्ण जिम्मा गृह मन्त्रालय र निर्वाचन आयोगको समन्वयमा गर्ने बताइएको छ । भारतीय दूतावासको तथ्यांकअनुसार पछिल्ला १८ वर्षमा निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई करिब ३ हजार सवारीसाधन उपलब्ध गराइसकेको छ ।
हरेक निर्वाचनमा भारतले नेपाललाई सवारीसाधन उपलब्ध गराउँदै आएको छ । भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताका युवाहरुको प्रदर्शनको क्रममा प्रहरी कार्यालयहरुमा समेत आगजनी हुँदा भवन र सवारी साधनहरु नष्ट भएका थिए ।
भारत सरकारले अनुदानमा दिएका गाडीले प्रयोगमा आउदा केही राहत हुने प्रहरी प्रधानकार्यालयले जनाएको छ । अनुदानमा आएका गाडीहरु प्रहरी प्रधानकार्यालयले आवश्यकताको आधारमा जिल्ला प्रहरी कार्यालयलाई पठाउने भएको छ ।











