
काठमाडौं । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले रास्वपाका सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ ।
रास्वपाले आज जिल्लामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आयोजना गर्ने सूचना प्राप्त भएको भन्दै प्रशासनले सूचना जारी गर्दै रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न रोक लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीद्वारा हस्ताक्षरित पत्रमा प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा २०८२ माघ १४ गतेदेखि नै निर्वाचन आचारसंहिता लागु भइसकेको स्मरण गराइएको छ ।
प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ’मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ’जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी आचारसंहिता विपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’











