
काठमाडौं । बझाङको साइपाल गाउँपालिकाका युवाहरूले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै ६ दिनसम्म सार्वजनिक बिदा दिन माग गरेका छन् ।
निर्वाचनमा मतदाताको सहभागिता बढाउन भन्दै उनीहरुले इमेलमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पठाएर फागुन १८ देखि २३ सम्म सार्वजनिक बिदा दिन माग गरेका हुन् ।
‘प्रतिनिधिसभाको निर्वाचन केवल एक प्रशासनिक कार्यमात्र नभई यो राष्ट्रको भाग्य र भविष्य कोर्ने, ऐतिहासिक तथा लोकतन्त्रको आत्मालाई सशक्त बनाउने महान् राष्ट्रिय पर्व हो’, ज्ञापनपत्रमा भनिएको छ, ‘यो दिन नागरिकको आवाज मतपत्रमार्फत बोल्ने दिन हो । त्यसैले निर्वाचनलाई सहज र व्यापक सहभागितामूलक बनाउनु राज्यको सर्वोच्च दायित्व हो ।’
ज्ञापनपत्रमा फागुन १८ मा पहाडी क्षेत्रमा होली र १९ गते तराई क्षेत्रमा होली परेकाले यी दुवै दिन देशैभर बिदा दिनुपर्ने माग छ ।
यस्तै, २० गते निर्वाचनको अघिल्लो दिन भएकाले बिदा दिनुपर्ने, २१ गते निर्वाचनको दिन सार्वजनिक बिदा हुने, २२ गते शुक्रबार भएका हुँदा आफ्नो गन्तव्यमा फर्कनका लागि समय दिइनुपर्ने माग गरिएको छ । २३ गते शनिबार पर्छ ।
अरू सबै सार्वजनिक बिदा नै परेको हुँदा फागुन २० र २२ लाई सरकारले निर्णय गरी बिदा दिनुपर्ने ज्ञापनपत्रमार्फत माग गरिएको साइपालका युवा साजन बोहराले बताए । उनका अनुसार यसरी ६ दिनसम्म बिदा दिइएमा कामको लागि घरबाहिर रहेकाहरूले मतदान गर्न पाउने युवाहरुको बुझाइ छ ।











