
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको बताएका हुन् ।
पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित निर्वाचन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालैका दिनमा देखिएको ‘स्टन्ट’ र ‘हल्ला’ को प्रभाव जनताले बुझिसकेको भन्दै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई तर्कसहित त्यसको खण्डन गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिए ।
उनले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिँदै फिल्डमा त्यस्तो प्रभाव नरहेको स्पष्ट पारे । उनकाअनुसार जहाँ पहिला त्यस्ता शक्तिहरूले जितेका थिए, त्यहाँ अहिले उनीहरूको प्रभाव ओरालो लागेको छ ।
नयाँ स्थानहरूमा भ्रम दिन सजिलो हुने भएपनि जनताले नेताहरूको काम र क्षमताको मूल्याङ्कन गरिसकेको उनको भनाइ छ । दाहालले उपत्यका लगायतका क्षेत्रमा पुराना र अनुभवी नेताहरूलाई जनताले हेरिसकेको र अब स्टन्टबाजहरूको हल्लाखोर प्रवृत्तिको भ्रम मुक्त भइसकेको दाबी गरे ।
उनले भने, ‘जहाँ जनताले अझै कुरा बुझ्न पाएका छैनन्, त्यहाँ मात्र यस्ता प्रचारको प्रभाव देखिएको छ । त्यस्ता भ्रमहरूलाई तर्कद्वारा चिर्नुपर्छ ।’
राजनीतिक संकटको समाधानका लागि निर्वाचन नै एक मात्र वस्तुवादी र वैज्ञानिक बाटो भएको दाहालको तर्क छ । आज सिंगो राष्ट्र यही विचारमा सहमत भएको भन्दै उनले यसलाई पार्टीको बुझाइको जितका रूपमा व्याख्या गरे ।











