Logo
Logo

निर्वाचन आचारसंहिताको धज्जी कि विद्रोह ? प्रशासनको उर्दी लत्याउँदै रविले मागे भोट


1.4k
Shares

नवलपरासी । आगामी निर्वाचनको सरगर्मी तीव्र बन्दै जाँदा नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेका छन् ।

प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न, नगराउन लामिछानेलाई हिजो सोमबार बेलुका नै सचेत गराएको थियो । प्रशासनको रोकका बाबजुद पनि उनले आज (मंगलबार) पश्चिम नवलपरासीका विभिन्न स्थानमा सार्वजनिक सम्बोधन मात्र गरेनन्, खुला रूपमा मतसमेत मागेका छन् ।

सोमबार दिनभर रुपन्देहीका चुनावी कार्यक्रममा व्यस्त रहेका लामिछानेको मंगलबार नवलपरासीमा तय गरिएको कार्यक्रमलाई जिल्ला प्रशासनले निर्वाचन आचारसंहिता विपरीत ठहर गर्दै रोक लगाएको थियो । निर्धारित समयअनुसार जिल्लाका विभिन्न स्थानमा हुने कार्यक्रमलाई लक्षित गर्दै प्रशासनले औपचारिक सूचना नै जारी गरेको थियो ।

तर, प्रशासनिक चेतावनीलाई बेवास्ता गर्दै लामिछानेले मंगलबार तय गरिएको कार्यतालिका अनुसार नै नवलपरासीका विभिन्न स्थानमा सम्बोधन गरेका हुन् । नवलपरासीको गोपिगञ्जमा आयोजित कार्यक्रममा उनले नवलपरासी क्षेत्र नम्बर–१ का उम्मेदवार विक्रम खनालका पक्षमा खुलेआम मत समेत मागेका छन् ।

सभापति लामिछानेले पाँच वर्षका लागि ‘स्थायी सरकार’ बने देशका सम्पूर्ण समस्या एकैपटक समाधान हुने दाबीसमेत गरे । उनले भने, ‘अब मेरो पुरानो दल, म सक्रिय/निष्क्रिय केही चल्दैन। एउटै सरकार बनाएर पाँच वर्षका लागि स्थायित्व दिनुपर्छ, अनि देशका सबै समस्या एकैचोटि डम्पिङ साइटमा फाल्ने हो ।’

देश जोगाउन फागुन २१ गते हुने निर्वाचनमा रास्वपालाई मतदान गर्नुपर्ने उनको आग्रह थियो। उनले मतदातालाई सम्बोधन गर्दै भने, ‘यो ऐतिहासिक घडीमा यदि तपाईंहरूले हात कमाउनु भयो भने देश फेरि अन्धकारतर्फ जान्छ। तपाईंहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। चोक–चोकमा हात जोडेर देश बचाइदिनुहोस् भनेर तपाईंहरूले मलाई आग्रह गर्नुभएको छ। आज म त्यही आग्रह लिएर यहाँ आएको हुँ-आमाबुबा, दाजुभाइ, दिदीबहिनी हो, फागुन २१ गते देश बचाइदिनुहोस् ।’

त्यस्तै, लामिछानेले नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारमा पनि सम्बोधन गर्दै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन ‘नेताले होइन, जनताले जित्ने’ दाबी गरेका छन् । उनले भने- ‘चुनाव जितेपछि जनताले भनेको काम गर्न सकेन भने अर्को चुनावमा सजाय दिनुपर्छ ।’

जनताले अब आफ्ना समस्या बोकेर नेताको ढोका–ढोका धाउन नपर्ने दाबी गर्दै उनले भने, ‘नेताले नै जनताका समस्या बुझ्नुपर्छ, आफैं जनतामाझ पुगेर सुन्नुपर्छ।’

निर्वाचन आचारसंहिता अनुसार कुनै पनि दलका प्रमुख नेता वा उम्मेदवारले मतदातालाई लोभ्याउने, धम्क्याउने वा आचारसंहिताले निषेध गरेका क्षेत्रमा सभा, सम्मेलन तथा प्रचारात्मक गतिविधि गर्न पाउँदैनन् ।

यसै सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीले प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन रास्वपाले सञ्चालन गरेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम आचारसंहिता प्रतिकूल हुने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्