
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ का घटनाहरूलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम भएको बताएका छन् ।
सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले ती घटनाहरूलाई केवल सुरक्षाको दृष्टिकोणबाट मात्र नहेरी त्यसको गहिराइ बुझ्न आवश्यक रहेकोमा जोड दिए ।
‘हामी ८४ सालको निर्वाचनको तयारीमा थियौँ, तर भदौका ती दुई दिनले हाम्रो आँखा खोलिदिएको छ’ उनले भने, ‘२३ गते हाम्रा निहत्था नौजवानहरू मारिए, २४ गते देशले ठुलो क्षति व्यहोर्यो। यो क्षति र आक्रोश सरकार, प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो ।’
थापाले हालको राजनीतिमा दुई थरी घातक प्रवृत्ति देखिएको टिप्प्णी गरे । पहिलो, ‘सबै ठीकठाक छ, यो सबै षड्यन्त्र मात्र हो’ भन्ने सत्तारुढ मानसिकता र दोस्रो, ‘आगोमा घिउ थपेर आफ्नो राजनीतिक झन्डा उठाउने’ अवसरवादी प्रवृत्ति रहेको उनकाे भनाइ छ ।
उनले अगाडी थप भने, ‘जसले गल्ती र कमजोरी गरेको कुरालाई स्वीकार्दैन, त्यो कायर हो । जसले स्वीकार्छ र सच्याउने हिम्मत गर्छ, त्यो बहादुर हो । हामीले गल्ती गरेका छौँ र ती गल्ती सच्याएर कांग्रेसलाई फेरि जनताको भरोसायोग्य पार्टी बनाउनुपर्छ ।’











