Logo
Logo

‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्दनका लागि आयोगले काम गरिरहेकाे छ’


504
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको शासन–प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् ।

आयोगको ३५औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विगत केही वर्षयता साना प्रशासनिक कामदेखि बजेट निर्माण, योजना छनोट, उच्चस्तरीय नियुक्ति, मन्त्री चयन र सरकार परिवर्तनसम्ममा शक्तिशाली विचौलिया सक्रिय हुन थालेको नागरिकको बुझाइ रहेको बताए । हरेक काममा विचौलिया प्रवृत्तिले राज्य संयन्त्रको स्वायत्तता र सुशासनलाई कमजोर बनाउँदै लगेको उनको भनाइ छ ।

‘विगतमा फ्रन्टलाइनबाट सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा साना खालका काममा सहजीकरणको लागि विचौलियाहरूले काम गर्ने गरेकोमा विगत ५–१० वर्षदेखि बजेट निर्माण, योजना निर्माण, महत्वपूर्ण निकायको नियुक्ति, सरुवा, बढुवा, मन्त्रीहरू नियुक्ति, सरकार परिवर्तनसम्मका कार्यका लागि शक्तिशाली विचौलियाहरूको प्रभाव बढ्दै गएको आम बुझाई छ’, प्रमुख आयुक्त राईले भने ।

उनले अगाडी थप भने, ‘यीनै विचौलियाले सरकार र सरकारका सबै निकायलाई आफ्नो नियन्त्रणमा लिई तिनकै इशारामा चलाउन थालेको कारण राज्यमा सुशासन कायम हुन नसकेको भन्ने गुनासो आउन थालेको हुँदा राज्य सञ्चालकहरूले सबै क्षेत्रमा विचौलिया निषेध गर्न नसकेमा सुशासन नारामा मात्र सीमित हुने देखिन्छ ।’

उनले आयोगले संवैधानिक जिम्मेवारी अनुरूप भ्रष्टाचारजन्य कसुरको वस्तुनिष्ठ अनुसन्धान र विशेष अदालतमा अभियोजनलाई निरन्तरता दिएको स्पष्ट गर्दै अब निरोधात्मक र प्रवद्र्धनात्मक रणनीतिमासमेत जोड दिइएकोसमेत बताए ।

आयोगले भ्रष्टाचारजन्य कसुरको वस्तुनिष्ठ अनुसन्धान गरी भ्रष्टाचार भएको देखिएमा विशेष अदालतमा मुद्दा दायर गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्दै आइरहेको उनले बताए ।

साथै सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ मा भएको पछिल्लो संशोधनअनुसार भ्रष्टाचारजन्य कसुरबाट आर्जित सम्पत्तिको शुद्धीकरणसम्बन्धी कसुरका अनुसन्धान आयोगले गर्ने भन्ने व्यवस्था भएबमोजिम आयोगले सो कसुरको समेत अनुसन्धान र अभियोजन गर्ने कार्य गर्दै आएको छ ।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि आयोगले आफ्नो रणनीतिक योजना तर्जुमा गरी उपचारात्मक कार्यका अतिरिक्त निरोधात्मक र प्रवद्र्धनात्मक कार्य समेत गर्दै आएको उनले बताए ।

आयोगले ‘भ्रष्टाचारमुक्त र सचादारयुक्त सार्वजनिक क्षेत्र निर्माण’ सहितको दूरदृष्टि राखी पाँचौँ रणनीतिक योजना (२०८१÷८२–२०८५÷८६) कार्यान्वयनमा ल्याएको र यसले उपचारात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक विधि अवलम्बनमार्फत भ्रष्टाचार न्यूनीकरण गर्ने लक्ष्य लिएको राईले उल्लेख गरे । अहिले उच्च जोखिमयुक्त क्षेत्रलाई प्राथमिकतामा राखी अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाइएको उनको दाबी छ ।

उजुरी व्यवस्थापन प्रणालीमा सुधार, विज्ञ परामर्श, निजी कानुन व्यवसायीबाट बहस पैरवी, सूचना प्रविधिको प्रयोग विस्तार, अनुसन्धानका नवीन विधि र अनुसन्धान अधिकृतको विशिष्टीकृत क्षमता विकासमार्फत अनुसन्धानको गुणस्तर अभिवृद्धि गरिएको पनि प्रमुख आयुक्त राईले बताए ।

विगत पाँच वर्षमा आयोगमा एक लाख ४८ हजार ५०० उजुरी दर्ता भएका छन् । तीमध्ये एक लाख सात हजार ९१५ अर्थात् ७२.८ प्रतिशत फछ्र्योट भएको जनाइएको छ । सो अवधिमा ७०० भन्दा बढी मुद्दा विशेष अदालतमा दायर गरिएको छ । आव २०८१÷८२ मा १३७ र चालु आवमा हालसम्म ९४ मुद्दा दायर भएका छन् । राज्यकोषको हानीनोक्सानी क्षतिपूर्तिका लागि पछिल्लो पाँच वर्षमा वार्षिक औसत रु चार अर्बभन्दा बढी बिगो मागदाबी लिइएको आयोगले जनाएको छ ।

आयोगप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको उल्लेख गर्दै प्रमुख आयुक्त राईले राजनीतिक वा प्रशासनिक जुनसुकै तहका पदाधिकारीविरुद्ध पनि प्रमाणका आधारमा निर्भीकतापूर्वक अभियोजन भइरहेको दाबी गर्नुभयो । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत आयोगबाट मुद्दा दायर भइरहेका छन् । नेपाल ग्रे–लिष्टबाट बाहिरिनका लागि आवश्यक सुधारात्मक क्रियाकलाप विस्तार गर्ने कार्ययोजनासमेत कार्यान्वयनमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्