काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली तथा सामाजिक संरचनामा गम्भीर प्रभाव पारेको बताएका छन् ।

काठमाडौंमा आयोजित सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यक्रममा बोल्दै उनले विश्वव्यापी रूपमा यस्ता अपराधका कारण वार्षिक अर्बौं अमेरिकी डलर बराबरको राजस्व नोक्सानी हुने उल्लेख गरे ।
गभर्नर पौडेलका अनुसार वित्तीय अपराधको प्रभाव आर्थिक क्षतिमा मात्र सीमित छैन, यसको मानवीय मूल्य अझ भयावह छ । यसले सामाजिक-आर्थिक असमानता बढाउने, युवा तथा बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गर्ने जोखिम तीव्र बनाउने उनले बताए ।
सीमानाविहीन वित्तीय अपराधले कानूनी छिद्र र प्रविधिगत कमजोरीको फाइदा उठाउँदै तीव्र गतिमा रकम ओसारपसार गरिरहेको उल्लेख गर्दै उनले यस्ता गतिविधि रोक्न प्रतिक्रियात्मकभन्दा निरोधात्मक सुपरीवेक्षण आवश्यक रहेकोमा जोड दिए ।
उनले वित्तीय समावेशीकरणमा असर नपर्ने गरी जोखिममा आधारित सुपरीवेक्षण प्रणाली प्रभावकारी रूपमा लागू गर्नुपर्ने आवश्यकता औंल्याए ।











