काभ्रे । रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाएका र घाइते भएका परिवारका आफन्तले क्षतिपूर्ति र उपचारको माग गर्दै सडक जाम गरेका छन् ।

मन्थली अस्पताल क्षेत्रका पीडितहरूले मन्थली नगरपालिका-२, भुत्याहा खोला छेउमा टिफर तेर्स्याएर यातायात अवरुद्ध गरेका हुन् । सडक जामका कारण रामेछाप-काठमाडौं तथा रामेछाप-ओखलढुंगा रुटका सवारीसाधनहरू बाटोमै रोकिएका छन् ।
आफन्तहरूले बस व्यवसायी र अरनिको यातायात सेवा समितिका पदाधिकारीहरूलाई तत्काल सम्पर्कमा आउन, मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचार सुनिश्चित गर्न माग गरेका छन् । माग पूरा नभएसम्म दुर्घटनामा ज्यान गुमाएका १२ जनाको शव नबुझ्ने अडान उनीहरूले लिएका छन् ।
स्थिति समाधानका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा सर्वपक्षीय बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
दुर्घटनामा लिखु तामाकोशी गाउँपालिका-४ का बस धनी दिपेश बस्नेत र उनका भतिज दिपेन्द्र बस्नेतसहित एकै परिवारका चार जनासहित १२ जनाको ज्यान गएको थियो ।











