काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले निर्वाचनका क्रममा नेपाल प्रहरी वा चुनावमा खटिएका कर्मचारीहरूलाई सहयोग आवश्यक परेमा तत्काल परिचालन हुन निर्देशन दिएका छन् ।

माघ २७ र २८ गते गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा अवस्था बुझ्ने क्रममा महानिरीक्षक अर्यालले प्रकोपका बेला जस्तै चुनावको समयमा पनि आवश्यक परे स्वतः परिचालित हुन र त्यसका लागि आदेश कुर्नु नपर्ने स्पष्ट पारे ।
‘आदेशको पर्खाइमा नबस्नुहोस् । सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन भएर मुख्यालयमा जानकारी गराउनुहोस्,’ उनले भने, ‘आदेश कुर्नु पर्दैन, यही स्थायी आदेश हो ।’
चुनाव बिथोल्न खोज्ने प्रयास विफल बनाउन सबै सुरक्षा निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले निष्पक्ष निर्वाचन र मतदाताको सुरक्षामा कुनै कमजोरी हुन नदिन पनि निर्देशन दिए ।











