
प्रेमचन्द्र झा, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ बढाउने र साइफन बन्द गर्ने कार्य तीव्र गतिमा भइरहेको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन् ।
हरेक वर्ष वर्षायाममा गौर डुबानमा पर्ने प्रमुख कारण यही बाँध रहेको दाबी गर्दै उनीहरूले तत्काल उक्त कार्य रोक्न माग गरेका हुन् ।
स्थानीय बासिन्दाका अनुसार दशगजा क्षेत्र आसपास कुनै किसिमको भौतिक संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय प्रावधान रहे पनि दशगजादेखि करिब ३०–४० मिटर पर बाँध निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ ।
‘मर्मतको बहानामा बाँध अझै अग्लो बनाइँदैछ र साइफनसमेत बन्द गर्ने काम भइरहेको छ । यसले पानीको निकास अवरुद्ध भई फेरि गौर डुबानमा पर्ने निश्चित छ,’ रौतहटका समाजसेवी महमद अजादले भने ,
अजादका अनुसार वडा अध्यक्ष, नगर प्रमुख, जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी बल लगायत सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो छ । ‘हामीले सबैलाई जानकारी गरायौं, तर कसैले चासो देखाएन। यसले हामी थप मर्कामा परेका छौं,’ अर्का स्थानीयले बताए ।
स्थानीयको भनाइमा, यदि तत्काल उक्त कार्य रोकिने पहल नभए आगामी वर्षायाममा गौर पुनः गम्भीर डुबानको जोखिममा पर्नेछ । यस विषयमा सम्बन्धित सरकारी निकाय तथा राजनीतिक दलका प्रतिनिधिहरू मौन बसेको आरोप पनि लगाइएको छ ।
यस सम्बन्धमा सरोकारवाला निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ । स्थानीयले भने तत्काल स्थलगत अनुगमन गरी विवादित निर्माण कार्य रोक्न र दीर्घकालीन समाधान खोज्न माग गरेका छन् ।











