काठमाडौं । आम जनता पार्टीका नेता ऋषि धमलाले जेनजी आन्दोलनपछि देशलाई संविधानभित्रबाटै निकास दिनको लागि आफूले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।

आम जनता पार्टीकाको आगामी फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै सुदन गुरुङसहित जेनजी प्रतिनिधिहरूसँग ७ घण्टा वार्तापछि राष्ट्रपतिलाई निकासको लागि आफूले सुझाएको दाबी गरेका हुन् ।
उनले भने, ‘जेनजी आन्दोलनपछि देश अन्योलतामा थियो, देशमा कर्फ्यू लाग्यो त्यसपछि मैले सुदन गुरुङलगायत जेनजीको नेताहरू सबैलाई बोलाएँ, एकसाथ सबैलाई राखेर कुरा गरेँ, प्रधानसेनापति र राष्ट्रपतिले वार्तामा बोलाउनुभएको थियो । मैले संविधान र लोकतन्त्र बचाएर सम्झौता गर्न सुझाव दिए । मैले मध्यमार्गी धार अघि सारेपछि सम्झौता भएर सुशीला कार्की प्रधानमन्त्री हुनुभयो ।’
उनले आफूले विगतमा उठाउँदै आएको मुद्दालाई जेनजीले पनि उठाएको बताए । सोही क्रममा धमलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि आफ्नो विशेष किसिमको सम्बन्ध रहेको बताएका छन् ।












