काठमाडौं । आम जनता पार्टी आजपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आम जनता पार्टी आजपाले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहित घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, ‘एक घर एक रोजगारी’, निःशुल्क स्वास्थ्य सेवा तथा शिक्षा लगायतका मुद्दाहरू समेटिएका छन् ।
घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष प्रभु साहले मत माग्ने बेलामा मधेश र पहाडको नाम लिने तर सत्तामा पुगेपछि व्यक्तिगत स्वार्थमा केन्द्रित हुने प्रवृत्तिको अन्त्य आवश्यक रहेको बताए ।
उनले विगतका निर्वाचनहरूमा “पुरानाले देश बिगारे” भन्दै मत माग्ने नयाँ शक्तिहरू समेत अन्ततः पुरानै सत्तासंरचनामा समाहित भएको टिप्पणी गरे । जनतालाई भ्रममा पार्ने राजनीतिक संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै उनले आफ्नो पार्टी नयाँ मुद्दा र स्पष्ट एजेन्डासहित जनतामाझ गएको दाबी गरे ।
अध्यक्ष साहले जनताको जीवनस्तर कागजी योजनामा सीमित नभई व्यवहारिक रूपमा सुधार गर्ने स्पष्ट योजना आजपासँग रहेको बताए । साथै, सक्षम उम्मेदवार चयन र सही नीतिगत दिशाका लागि मतदाताले गम्भीर भएर मत प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।












