आजको युगमा इन्टरनेट र सामाजिक सञ्जाल विकल्प होइन, बाध्यता बनिसकेको छ । हामी यस्तो समयमा छौँ जहाँ ‘अनलाइन’ हुनु भनेको जीवित हुनु र ‘अफलाइन’ हुनु भनेको संसारबाट विछोड हुनुजस्तै मान्न थालिएको छ ।
प्रविधिले संसारलाई साँघुरो मात्र बनाएको छैन, उसले ज्ञान, सूचना र मानवीय सम्पर्कका असङ्ख्य ढोकाहरू पनि एकसाथ उघारेको छ । तर यही प्रविधि, जब अपरिपक्व चेतनाको हातमा पुग्छ, तब वरदानभन्दा बढी अभिशापमा रूपान्तरण हुने खतरा बन्छ ।
विशेषतः १६ वर्षमुनिका बालबालिकाको जीवनमा सामाजिक सञ्जाल अब मनोरञ्जन वा सूचनाको माध्यम मात्र रहेन, यो एक किसिमको ‘डिजिटल चक्रव्यूह’ बन्दै गएको छ । जहाँ प्रवेश गर्न कुनै अवरोध छैन, तर सुरक्षित रूपमा बाहिर निस्कनु दिनदिनै कठिन हुँदै गएको छ ।
तथ्याङ्कले नै बोलिरहेको छ– नेपालमा इन्टरनेट पहुँच ९१ प्रतिशत नाघिसकेको छ । तर यही तथ्याङ्कभित्र लुकेको कटु यथार्थ झन् भयावह छ । करिब ७५ प्रतिशत बालबालिकालाई अनलाइन दुव्र्यवहारबाट कसरी जोगिने भन्ने आधारभूत चेतनासमेत छैन । यही अज्ञानताको अँध्यारो कुनामा लुकेर सामाजिक सञ्जालमा ‘साइबर प्रिडेटर्स’हरू सक्रिय छन् । जो बालबालिकाको निर्दोषपनलाई आफ्नो हतियार बनाउँदै फकाउने, यौनजन्य सामग्री पठाउने, र नग्न तस्बिरका नाममा ब्ल्याकमेल गर्ने जघन्य गतिविधिमा संलग्न छन् । यो कुनै साधारण मनोरञ्जनको प्रश्न होइन । यो त बालमनोविज्ञानमाथि आक्रमण गर्ने अपराधको सुनियोजित र भयावह जालो हो ।
सामाजिक सञ्जालमा अनियन्त्रित पहुँचले बालबालिकाको मानसिक, शारीरिक र नैतिक विकासमै गम्भीर संकट सिर्जना गरिरहेको छ । १६ वर्षभन्दा कम उमेर जीवनको त्यो संवेदनशील कालखण्ड हो, जब मस्तिष्क, भावना र व्यवहारिक संरचनाहरू निर्माणको प्रक्रियामा हुन्छन् । तर यही उमेरमा सामाजिक सञ्जालले बाँड्ने ‘लाइक’ र ‘कमेन्ट’ले मस्तिष्कमा क्षणिक सन्तुष्टि त दिन्छ, तर निरन्तर दोहोरिने यही उत्तेजनाले बालबालिकालाई क्रमशः ‘डिजिटल लागुऔषध’को लतमा फसाइरहेको छ ।
आजका बालबालिका खुला खेलमैदानभन्दा बन्द स्क्रिनमा बढी समय बिताइरहेका छन् । दौडने, लड्ने, हाँस्ने र सामाजिक सम्बन्ध गाँस्ने जीवनको प्रारम्भिक अभ्यास गर्नुपर्ने उमेरमा उनीहरू मोबाइलको सानो पर्दाभित्र कैद हुँदै गएका छन् । यही डिजिटल कैदले बालबालिकालाई साइबर बुलिङ, फिसिङ र विविध किसिमका अनलाइन दुव्र्यवहारको सजिलो सिकार बनाइरहेको छ ।
अरूको सजावट गरिएको, बनावटी र अतिरञ्जित जीवन देखेर आफूलाई सधैँ अपूर्ण, कमजोर र पछि परेको ठान्ने मानसिकता बाल्यकालमै रोपिँदै गएको छ । निरन्तर तुलना गर्ने बानीले आत्मविश्वास क्षय गराउँदै बालबालिकालाई आत्मग्लानि र हीनताबोधको अँध्यारोमा धकेलिरहेको छ । त्यसैले अब बहसको केन्द्र ‘प्रतिबन्ध लगाउने कि नलगाउने’ भन्ने सतही प्रश्नमा सीमित हुनुहुँदैन । मूल प्रश्न बालबालिकाको भविष्य सुरक्षित गर्न सामाजिक सञ्जालमा कसरी, कति र कत्तिको कडाइका साथ नियन्त्रण र प्रतिबन्ध लागू गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ ।
कतिपयको तर्क छ- पूर्ण प्रतिबन्ध समाधान होइन । यो तर्क आंशिक रूपमा सही पनि देखिन सक्छ, किनकि भविष्यको कार्यक्षेत्र अनिवार्य रूपमा प्रविधिमैत्री हुँदै गएको छ । र, पूर्णरूपमा टाढा राख्दा बालबालिका प्राविधिक प्रतिस्पर्धामा पछि पर्न सक्ने सम्भावना रहन्छ । तर बालबालिकाको सन्दर्भमा ‘स्वतन्त्रता’को नाममा गरिने लापरबाही कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।
हामी साना बच्चालाई सडकमा एक्लै छोड्दैनौँ, किनकि त्यहाँ दृश्य र अदृश्य दुवै खतरा हुन्छन् । ठीक त्यस्तै, मानसिक रूपमा अझै अपरिपक्व बालबालिकालाई डिजिटल दुनियाँको असीमित, असुरक्षित र नाफामुखी जालमा निःसङ्कोच छोडिदिनु पनि केवल लापरबाही मात्र होइन, एक प्रकारको सामाजिक अपराधकै श्रेणीमा पर्छ ।
बालबालिकाको सामाजिक सञ्जाल प्रयोगको प्रश्न केवल विकासोन्मुख मुलुकको चिन्ता होइन भन्ने कुरा विकसित राष्ट्रहरूको अभ्यासले नै स्पष्ट पारिसकेको छ । त्यस्ता मुलुकहरूमा उमेर सीमा, समय सीमा र कडा अभिभावकीय तथा संस्थागत निगरानीलाई अनिवार्य बनाइएको छ ।
कतिपय राष्ट्रहरूले विद्यालय समयमै मोबाइल फोन प्रयोगमा स्पष्ट र कडा प्रतिबन्ध लगाएर बालबालिकालाई डिजिटल विचलनको दलदलबाट जोगाउने नीतिगत साहस देखाइसकेका छन् । अस्ट्रेलिया, स्पेन, मलेसिया, फ्रान्स, नर्वे, डेनमार्क र ग्रिसजस्ता देशहरूले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानुनी व्यवस्था लागू गरेको छ । यसले एउटा गहिरो यथार्थ उजागर गर्छ– यो समस्या कुनै एक पारिवारिक लापरबाहीको परिणाम होइन, बालबालिकाको भविष्यसँग गाँसिएको गम्भीर वैश्विक चिन्ताको विषय हो ।
सामाजिक सञ्जालमा फैलिएका चम्किला, ‘फिल्टर’ गरिएका र बनावटी तस्बिरहरूले बालबालिकाको यथार्थबोध नै विकृत बनाइरहेका छन् । देखावटी सफलतासँग आफ्नो सामान्य जीवन तुलना गर्न बाध्य हुँदा उनीहरूभित्र क्रमशः हीनताबोध पलाउँछ । आफ्नै शरीर, स्वरूप र पहिचानप्रति असन्तुष्टि बढ्नु यसको सबैभन्दा खतरनाक मनोवैज्ञानिक परिणाम हो, जसले आत्मसम्मान मात्र होइन, मानसिक स्वास्थ्यसमेत तहसनहस बनाइरहेको छ ।
बालबालिकालाई मोबाइल थमाएर ‘शान्त’ राख्ने हाम्रो असावधान बानीले उनीहरूलाई भीडभित्रै एक्लो बनाइरहेको छ । बच्चामै सामाजिक सञ्जालको असीमित स्वतन्त्रता दिनु भनेको लाइसेन्सबिनाको बालकलाई भिडभाडयुक्त राजमार्गमा गाडी चलाउन सुम्पिनु सरह हो, जहाँ दुर्घटना केवल सम्भावना होइन, निश्चितता हुन्छ !
हामी आफ्ना छोराछोरीलाई सडकमा अपरिचितसँग सजिलै घुलमिल गर्न दिँदैनौँ । तर, मोबाइलको सानो पर्दाभित्र लुकेका हजारौँ अपरिचितहरूसँग उनीहरूलाई एक्लै छोड्दा किन निश्चिन्त हुन्छौँ ? डिजिटल संसार सुरक्षित छ भन्ने भ्रम नै आजको सबैभन्दा ठूलो धोका बनेको छ ।
अब जिम्मेवारीबाट पन्छिने समय सकिएको छ । राज्य, विद्यालय र अभिभावक तीनै पक्षले आ–आफ्नो भूमिका गम्भीरतापूर्वक निर्वाह गर्नैपर्छ । विद्यालयमा मोबाइल–मुक्त वातावरण, घरमा स्पष्ट समयसीमा र निगरानी तथा राज्यस्तरमा बालबालिकालाई लक्षित डिजिटल सामग्रीमा कडा नियमन अनिवार्य छ । सामाजिक सञ्जाल कम्पनीहरूलाई बालबालिकाको ध्यान र मानसिकतामाथि मुनाफा कमाउने खुला छुट दिनु भनेको भावी पुस्तालाई बजारको बन्धक बनाउनु हो ।
बालबालिकालाई प्रविधिबाट पूर्णतः वञ्चित गर्नु समाधान होइन । तर उनीहरूलाई ‘प्रविधिको मालिक बन्न सिकाउने, दास होइन’ भन्ने चेतनाको विकास अत्यावश्यक छ । प्रतिबन्ध अस्थायी उपाय हुन सक्छ, तर सही संस्कार, डिजिटल साक्षरता र चेतना नै दीर्घकालीन समाधान हुन् । प्रविधि आफैँमा न राम्रो हो, न खराब हुन्छ । तर यसको प्रयोग गर्ने विवेक र उमेर नमिल्दा यही साधन विनाशको कारण बन्छ ।
१६ वर्षमुनिका बालबालिकालाई डिजिटल जञ्जालबाट टाढा राख्नु उनीहरूको स्वतन्त्रता खोस्नु होइन, बरु सुरक्षित, सन्तुलित र स्वस्थ भविष्य सुनिश्चित गर्नु हो । विकसित मुलुकका प्रविधि विज्ञहरूले आफ्ना सन्तानलाई सामाजिक सञ्जालबाट टाढा राख्नुको पछाडि गहिरो अनुभवजन्य चेतावनी लुकेको छ ।
बालबालिकाको डिजिटल लत केवल समयको बरबादी मात्र होइन, यो उनीहरूको मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र समग्र भविष्यप्रतिको मौन आक्रमण हो । सामाजिक सञ्जाल उपयोगी साधन बन्ने कि विनाशकारी हतियार ?यो निर्णय प्रविधिको होइन, हाम्रो विवेकमा छ ।
सरकारले ढिलाइ नगरी ठोस नीति ल्याओस्, अभिभावकले ‘डिजिटल निगरानी’ लाई जिम्मेवारीका रूपमा स्विकारुन् । अन्यथा प्रश्न गम्भीर छ– कतै हामी प्रविधिको नाममा एउटा अराजक, असहिष्णु र संवेदनहीन समाज त निर्माण गरिरहेका छैनौँ ? बेलैमा सोचौँ ।












