
घाम सँगै झुल्कने माटोमा नै हुर्कने।
आस्थाको बीउ रोपेर
भविष्यको फुल फुलाउने।
जात,वर्ग,लिङ्ग,धर्म र अस्तित्वको एउटै मालामा उनेर।
विकास,समृद्धि,सुशासन,र समानताको गला रङ्गाउने।
घृणा,क्षुद्रता,लाचारी र कायरताको चट्टानलाई फोरेर
सृजना र पसिनाको
खेतीमा लहलह बाली झुलाउने।
श्रम, संस्कृत संस्कार र माटोको सम्बन्ध जोडेर
आशीर्वाद,आश्रयवाद र चाकडीवादको किल्ला तोड्ने
वाद,विवाद र प्रतिवादको सुरुङ छेडेर
आमाको आँसु पुछ्न र उदारो
सपनाको व्यापार बन्द गर्न
भ्रष्टका लागि बारुद ,श्रमिकका लागि औजार
राष्ट्रका लागि स्वाभिमान र दुस्मनका लागि
मिसाइल बन्ने नेतृत्व खोजिरहेछ।
उज्यालो सपना देखाएर
अँध्यारो भविष्य तिर धकेल्नेहरू
विरुद्ध अन्धविश्वासको
जरा काटेर विज्ञान,प्रविधि
र चेतनाको मार्गदर्शनलाई
माटो मोलेर
समाजवादको उन्नत विचारको बिउँ छरेर
भोक,रोग,अभाव र विभेद हटाएर
पलायनता, अस्थिरता र संकुचिताको पर्खाल तोडेर
परजीवीता, परनिर्भरता र ढुलमुलेताको पहाड फोडेर
दलालीवाद,अवसरवाद र परिवारवादको जालो फ्याँकेर
भ्रष्टाचार,अनियमितता र आतंकको दुर्गन्ध फालेर
आमाको काख र राष्ट्रको साख रित्याउने
काला गोभन सर्पको टाउकोमा कुल्चेर
समान अवसर, समान पहुँच र समान प्रतिनिधित्व गराउने
शिक्षा,स्वास्थ्य र रोजगारीमा जोडेर
जनताको हाँसो र पुर्खा नासो दुवै जोगाउने
माटोमा रमाउने, लड्दा समाउने र खोज्दा भेटिने
दुख्दा मलम,सुखमा हाँसो र दुखमा आँसु बनेर
जहाँ खोज्यो त्यहीँ भेटिने इतिहास जोगाएर
आफू र म भन्ने शब्द मेटिउने
आँसुले भिझेको,भावनाले रुझेको र माटोले चिनेको
मन,वचन र कर्मले अटल अविभावक खोजिरहेछ।












