Logo
Logo

महाशिवरात्री : पशुपतिनाथ र साधुहरूको रहस्यमयी संसार


378
Shares

काठमाडौं । काठमाडौंको पूर्वी भेगमा अवस्थित पाशुपत क्षेत्र महाशिवरात्रीको आगमनसँगै एक अलौकिक ऊर्जाले भरिएको छ ।भारत र नेपालका कुना–कन्दराबाट आएका हजारौँ साधु, सन्त र नागा बाबाहरूको उपस्थितिले पशुपतिलाई ‘शिवपुरी’ मा परिणत गरिदिन्छ । महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरले नयाँ काँचुली फेर्दै छ ।

बाँसका खटहरू ठडिँदै छन् । र भक्तजनहरूको लर्को लाग्न थालेको छ । यो करोडौँ हिन्दुहरूको आस्थाको केन्द्रबिन्दु हो । जहाँ शिव स्वयं किराँतेश्वर रूपमा विराजमान छन् ।

हिमालयका कन्दराहरूदेखि भारतका अखाडाहरूबाट लामो यात्रा तय गरेर यहाँ आइपुगेका छन् बाबाजीहरू । कसैका जटाहरू भुईँ छुने लामा छन्, त कोही मौन तपस्यामा लिन छन् । सांसारिक मोह त्याग गरेका यी साधुहरूको अनुहारमा एक प्रकारको अनौठो तेज र शान्ति देखिन्छ ।

शिवरात्रीको अर्को आकर्षण हुन् यी नागा र अघोरी बाबाहरू । गलामा रुद्राक्षका माला, जसलाई शिवको आँशु मानिन्छ । शरीरमा बाघको छालाको ढाँचा भएका वस्त्रहरू । यी केवल पहिरन होइनन्, यी शिवको रौद्र र सौम्य रूपका प्रतीक हुन् । उनीहरूको यो विचित्र वेशभूषाले समाजको स्थापित नियमहरू भन्दा परको आध्यात्मिक स्वतन्त्रतालाई झल्काउँछ ।

शरीरमा घसिएको यो भष्म अर्थात् खरानीले जीवनको नश्वरतालाई जनाउँछ- ‘अन्ततः सबै खरानी भएर जानेछ ।’ चिसो रातमा बल्ने यी धुनीहरूले केवल शरीर मात्र तताउँदैनन्, यसले अज्ञानताको अन्धकारलाई हटाएर ज्ञानको प्रकाश छर्ने विश्वास गरिन्छ ।

शिवलाई धतुरो र गाँजा प्रिय लाग्छ भन्ने जनविश्वास छ । साधुहरू चिलिमको धुवाँसँगै गहिरो ध्यानमा प्रवेश गर्छन् । उनीहरूका लागि यो नशा होइन, यो शिवसँग एकाकार हुने एक माध्यम हो । जसलाई उनीहरू ‘प्रसाद’ को रूपमा ग्रहण गर्छन् । पशुपतिनाथको यो पावन भूमिमा अहिले मानिस र देवता बीचको दूरी मेटिए जस्तो भान हुन्छ । 

प्रतिक्रिया दिनुहोस्