काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीहरूको ढुवानी प्रक्रिया तिब्रताका साथ अगाडि बढाएको छ ।
मतदान कार्यका लागि पूर्वनिर्धारित ५२ प्रकारका सामग्रीमध्ये रबर म्याटलाई हटाएर ५१ प्रकारका सामग्रीहरू मात्र जिल्ला जिल्लामा पठाउन शुरु गरिएको हो ।
उनले भने, ‘निर्वाचन आयोगले ५२ प्रकारका निर्वाचन सामग्रीहरू मतदान कार्यमा प्रयोग गर्ने भनेर निर्णय गरे बमोजिम तर अब दुई वटा सामग्रीहरू रबर म्याट बाहेक ५१ प्रकारका सामग्रीहरू मतदान कार्यमा प्रयोग गर्ने भनेर आयोगबाट निर्णय भए बमोजिम विभिन्न प्रक्रियाबाट प्राप्त भइरहेका निर्वाचन सामग्रीहरू अहिले जिल्ला जिल्लामा ढुवानी गर्ने काम भइरहेको छ ।’
आयोगले हाल मतदाता नामावली, मतपत्र, नउड्ने मसीको मार्कर, स्वस्तिक छाप, स्ट्याम्प प्याड र मसी लगायतका आवश्यक सामग्रीहरू खरिद गरी ढुवानी कार्य शुरु गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए।
उनकाअनुसार कर्णाली प्रदेशका केही जिल्लाहरूमा यी सामग्रीहरू पठाइसकिएको र केही पुग्ने क्रममा रहेको छ । साथै कोशी प्रदेश र अन्य जिल्लाहरूका लागि पनि सामग्रीहरू पठाउने तयारी भइरहेको छ ।
आयोगकाअनुसार फागुनको पहिलो हप्ता सम्ममा अधिकांश जिल्लाहरूमा निर्वाचन सामग्रीहरू पु¥याइसक्ने लक्ष्य राखिएको छ । सामग्री प्राप्त हुने क्रम जारी रहेकाले जाँचबुझ गरी तत्काल सम्बन्धित गन्तव्यमा पठाउने कार्यलाई निरन्तरता दिइएको सूचना अधिकारी घिमिरेले बताए ।
मतपत्रको हकमा समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रहरू छपाई र प्याकिङ सम्पन्न भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ हालसम्म १ सय ४२ वटा निर्वाचन क्षेत्रका लागि ६६ वटा जिल्लाको मतपत्र छपाई भइसकेको छ । बाँकी रहेका मतपत्रहरू आईतवारसम्ममा छपाई गरिसक्ने आयोगको तयारी छ ।
सूचना अधिकारी घिमिरेकाअनुसार कर्णाली प्रदेशका जिल्लाहरूका लागि मतपत्रहरू ढुवानी भइसकेका छन् । ती मतपत्रहरू आईतवार साँझसम्ममा जिल्ला सदरमुकामहरूमा पुग्ने गरी व्यवस्थापन मिलाइएको बताए।












