Logo
Logo

कांग्रेस देश रूपान्तरण गर्ने स्पष्ट आधारसहित अगाडि बढेको छः महामन्त्री पौडेल


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक रूपमा रूपान्तरण भएर आएको कांग्रेस देश रूपान्तरणको स्पष्ट आधारसहित अगाडि बढेको बताएका छन्।

नेविसङ्घ गोरखा–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको पार्टी सदस्य एवम् शुभेच्छुक भेटघाट कार्यक्रममा उनले बदलिएको कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै देश बदल्ने बताएका हुन्।

“विशेष महाधिवेशनले कांग्रेस नयाँ बनेको होइन, रूपान्तरित भएर आएको हो । अब रूपान्तरित कांग्रेसले देशको रूपान्तरण गर्नेछ । रूपान्तरणको अर्थ हाम्रा नीति, सिद्धान्त र व्यवहारले पुष्टि गर्ने हो”, महामन्त्री पौडेलले भने, “पार्टीले एक व्यक्ति दुई पटकसम्म प्रधानमन्त्री हुने, सांसद्, मन्त्रीको समयरेखाको कुरा गरेका छौँ । निर्वाचनअघि गठबन्धन नगर्नेलगायत नीति अगाडि सारेका छौँ । त्यसैकारण यसपटक सबैले आफ्नो आस्थाको पार्टी र चुनाव चिन्हमा मतहाल्ने अवस्था बनेको छ । भविष्यमा अरु प्रभाव देखिने नै छन् ।”

उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भ्रष्टाचार अन्त्य र सुशासन मुख्य माग रहेको उल्लेख गर्दै ती मागको सम्बोधन कांग्रेसले पूरा गर्ने जिकिर गरे। भ्रष्टाचार अन्त्यका लागि आर्थिक कारोबारलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले कांग्रेसले सार्वजनिक गर्न लागेको प्रतिबद्धतापत्रमा भ्रष्टाचारको अन्त्य, सुशासन कायम, स्वदेशमा रोजगारी सिर्जना, डिजिटल मुलुक निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए।

गोरखा क्षेत्र नं २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले गोरखाको विकास र मुलुकको समृद्धिका लागि कांग्रेसको जीत आवश्यक रहेको बताए । आफूले १५ वर्षदेखि निरन्तर समाजसेवा गर्दै आएको उल्लेख गर्दै उनले जनताको सेवा गर्न समाजसेवा र राजनीतिलाई सँगै अगाडि बढाउने बताए।

कांग्रेस गोरखा क्षेत्र नं १ का उम्मेदवार प्रेम खत्रीले राष्ट्रिय समस्याको रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनालाई आफूले उच्च प्राथमिकतामा राखेको बताए।

कार्यक्रममा कांग्रेसका पुराना नेता चिरञ्जीवी वाग्ले, कमला पन्त, अब्दुल सत्तार, किरणबाबु श्रेष्ठ, कांग्रेस गोरखा जिल्ला सभापति एवम् प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानेलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्