
काठमाडौं । भारत सरकारले पशुपतिनाथ र बैजनाथधाम जोड्न नयाँ सडक करिडोर निर्माण गर्ने भएको छ । नेपालको काठमाडौंमा रहेको पशुपतिनाथ र भारतको झारखण्डको देवघरस्थित बैजनाथधामसँग जोड्न भारत सरकारले नयाँ करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको हो ।
भारतीय सरकारले भागलपुर हुँदै जाने यो नयाँ करिडोर निर्माणका लागि प्रशासनलाई आवश्यक तयारी सुरु गर्न निर्देशन दिइसकेको छ । यो जानकारी बिहारका सडक निर्माण मन्त्री डा. दिलीप जैसवालले गत मंगलबार विधानसभामा दिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । सन् २०२६÷२७ को बिहारको बजेटमा यो सडक निर्माणका लागि ८२ अर्ब ६० करोड भारु विनियोजन गरिएको छ ।
प्रस्तावित करिडोर पशुपतिनाथ–वैद्यनाथ हाई–स्पिड करिडोर काठमाडौंबाट सुरु हुनेछ । र भीमनगर, वीरपुर हुँदै बिहारको सुपौल जिल्लामा प्रवेश गर्नेछ । त्यसपछि मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका जिल्ला हुँदै झारखण्डको देवघर जिल्लास्थित वैद्यनाथ धामसम्म पुग्ने छ ।
प्रस्तावित ‘पशुपतिनाथ–सुपौल–वैद्यनाथधाम करिडोर’ सुल्तानगञ्ज–अगुवानीघाटमा गंगा नदीमाथि बनिरहेको पुल भएर गुज्रिनेछ, जसको निर्माण कार्य जारी छ । यो करिडोर करिब २४० किलोमिटर लामो हुने बताइएको छ । करिब सात महिना अगाडि बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले केन्द्रीय सडक यातायात र राजमार्ग मन्त्री नितिन गडकरीसँग भेट गरी यो करिडोर प्रस्ताव गरेका थिए ।
श्रावणी मेला र काँवर यात्राका क्रममा ठुलो संख्यामा श्रद्धालुहरू सुल्तानगञ्जबाट जल लिएर पैदल बैजनाथधाम जान्छन् । कतिपय भारतीय तिर्थयात्रीहरू पशुपतिनाथ मन्दिर दर्शनका लागि पनि आउँछन् । यो करिडोर बनेपछि श्रद्धालुहरूका लागि सुरक्षित र सहज यात्रा सुनिश्चित हुने र धार्मिक पर्यटक बढ्ने विश्वास गरिएको छ ।












