रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन अनन्तले फागुन २१ मा धाँधलीरहित निर्वाचन भए प्रतिनिधिसभा चुनावबाट नेकपा देशको पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।

पुनका अनुसार नेकपा राष्ट्रिय स्वाधीनता, समृद्धि, सुशासन र सामाजिक न्यायका एजेन्डासहित चुनावमा होमिएको छ । “यी एजेन्डालाई तीव्र गतिमा अघि बढाउन जनमत आवश्यक छ, देशभरबाट जनताको साथ प्राप्त हुनेमा हामी विश्वस्त छौँ,” उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई लक्षित गर्दै पुनले ‘नयाँ’ शक्तिसँग ठोस नीति र स्पष्ट दृष्टिकोणको अभाव रहेको आरोप लगाए । “न अर्थतन्त्रको स्पष्ट नीति छ, न सामाजिक र राजनीतिक दिशानिर्देश नै । अहिले पपुलिजमको राजनीति देखिन्छ, तर त्यस्तो राजनीति दीर्घकालीन हुँदैन,” उनले टिप्पणी गरे ।
राजनीतिमा सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङ गर्ने प्रवृत्ति बढ्दो रहेको उल्लेख गर्दै उनले प्राप्त उपलब्धि संस्थागत गर्न अन्य शक्तिसँग सहकार्य गर्न नेकपा तयार रहेको बताए ।











