Logo
Logo

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ‘नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक


0
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक पृथक विशेषता सहित ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले “एकै योजना, बहु–लाभ, सबै नारीका लागि सजिलो पहुँच” नारासहित योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षालाई केन्द्रमा राखेर तयार गरिएको योजनामा बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कका आधारमा नगद सुविधा प्रदान गरिनेछ । साथै मृत्यु लाभलाई वृद्धिशील बनाइएको छ, जसअनुसार मृत्युमा प्रदान गरिने बीमाङ्क रकम हरेक पाँच वर्षमा २५ प्रतिशतले बढ्ने व्यवस्था गरिएको छ ।

योजनाको अर्को प्रमुख आकर्षणका रूपमा नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार तथा गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । गर्भावस्था जटिलता पूरक करारअन्तर्गत बीमित महिलामा गर्भावस्थाका क्रममा सूचीकृत ११ वटा गम्भीर जटिलतामध्ये कुनै पुष्टि भएमा एकमुष्ट एक लाख रुपैयाँ उपलब्ध गराइनेछ । त्यस्तै गर्भावस्था स्याहार पूरक करारअन्तर्गत बीमा अवधिभित्र गर्भवती भएको प्रमाणित भएमा स्वास्थ्य सेवाका लागि एक पटकका लागि १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

यो योजना अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) प्रकृतिको रहेको छ । न्यूनतम बीमाङ्क रकम २ लाख ५० हजार रुपैयाँ तोकिएको छ भने अधिकतम बीमाङ्क आयश्रोतका आधारमा निर्धारण हुने कम्पनीले जनाएको छ । योजनामा प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्षसम्म राखिएको छ ।

योजनासँगै दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता सुविधा तथा बीमाशुल्क छुट सुविधा जस्ता विभिन्न ऐच्छिक पूरक करार पनि लिन सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले यो योजना महिलामा आर्थिक सुरक्षा, आत्मनिर्भरता र भविष्य सुनिश्चितताको उद्देश्यसहित ल्याइएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्