दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालयमा शुक्रबार साझ तोडफोड गरिएको छ। तुलसीपुरस्थित उक्त कार्यालयमा करिब साँझ ६ बजे नेकपा एमालेका केही कार्यकर्ताहरूले तोडफोड गरेको प्रहरी स्रोतले जनाएको छ।

सो घटना भिडियोमा पनि कैद भएको छ, जुन सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा युवा संघ र एमालेका नारा लगाउँदै केही व्यक्तिहरूले कार्यालयमा क्षति पु¥याउँदै गरेको देखिन्छ।
यसअघि बिहीबार राति रास्वपाका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउँदा आयोजित स्वागत कार्यक्रममा केही अपरिचित व्यक्तिहरूले एमालेको झण्डा जलाएको घटना सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि एमालेले यस विषयमा गम्भीर आपत्ति जनाएको थियो।
प्रहरीका अनुसार, हालसम्म सो घटनासँग सम्बन्धित एक व्यक्ति नियन्त्रणमा लिइएको छ। तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।











