काठमाडौं । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सबैभन्दा चर्चित क्षेत्र झापा–५ मा दुई प्रमुख उम्मेदवारहरू एकैसाथ सक्रिय हुँदै छन् । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र साह (बालेन) आज झापा पुग्दै छन् ।

यो क्षेत्रलाई ‘हाई–प्रोफाइल’ मुकाबलाको केन्द्रबिन्दु मानिएको छ ।एमाले अध्यक्ष ओली आज बिहान झापा पुग्ने कार्यक्रम छ । बिहान ११ बजे बिर्तामोडको होटल डेग्लोमा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नेछन् । त्यसपछि दिउँसो ३ बजे दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एन–प्याब्सनद्वारा आयोजित कार्यक्रममा सहभागी भई निजी क्षेत्रसँग अन्तरसंवाद गर्नेछन् ।
ओली यसअघि पनि आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर घरदैलो तथा समुदायसँग भेटघाटमा केन्द्रित छन्, जसलाई यसपटकको चुनावमा उनको बढ्दो चुनौतीको सङ्केतका रूपमा हेरिएको छ।
यसैबीच, स्वास्थ्य समस्या पछि काठमाडौं फर्किएका रास्वपा नेता बालेन पनि स्वास्थ्य लाभपछि आज झापा फर्किँदै छन् । उनका सहयोगी अर्जुन घिमिरेका अनुसार उनी बेलुकासम्म दमक पुग्नेछन् । अबका दिनहरूमा उनी पूर्ण रूपमा झापा–५ का चुनावी कार्यक्रममा व्यस्त रहने बताइएको छ ।
सुर्खेतमा चुनावी अभियानका क्रममा खाना अपच, बान्ता, पेट दुखाइ र रक्तचाप बढ्ने समस्या देखिएपछि उपचारका लागि फर्किएका बालेन दुई दिनको उपचार र घरमा आरामपछि पूर्ण स्वस्थ भएका छन् । झापा–५ हाल नेपालको निर्वाचनको ‘इपिसेन्टर’ बनेको छ, जहाँ ओलीको परम्परागत गढमा बालेनले चुनौती दिँदा राष्ट्रिय स्तरमा ठूलो चर्चा भएको छ ।
ओली चारपटक प्रधानमन्त्री बनेका प्रभावशाली नेता हुन् भने बालेन युवा पुस्ताको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा उदाएका छन् । यो क्षेत्रमा अन्य दलका उम्मेदवारहरू पनि मैदानमा छन्, तर मुख्य प्रतिस्पर्धा ओली र बालेनबीच नै देखिएको छ।











