काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको क्षेत्र नम्बर १ हो । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावल उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा छ ।

अछामको क्षेत्र नम्बर १ संसदीय निर्वाचन क्षेत्रमा साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र रामारोशन गाउँपालिका पर्छन् ।
अछाम- १ मा मतदान गर्न सक्ने कुल मतदाताको सङ्ख्या ८२ हजार ५१३ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १०५ मतदान केन्द्र तोकिएको छ ।
२०७९ को निर्वाचनमा अछाम- १ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका थिए । कुँवरले १९ हजार ५३४ मत प्राप्त गरेका थिए । त्यस्तै दोस्रो भएका नेकपा एमालेका झपट बहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रले एकीकृत समाजवादीलाई समर्थन गरेको थियो ।
२०७९ को समानुपातिकतर्फ नेपाली काँग्रेसले १४ हजार ५२५ मत प्राप्त गरेको थियो । त्यस्तै एमालेले १३ हजार ९६८ मत प्राप्त गर्यो भने माओवादी केन्द्रले ७ हजार २२८ मत प्राप्त गरेको थियो ।
उम्मेदवार-२०८२
यस पटक अछाम९१ मा एक स्वत्रन्त्रसहित दलहरूका गरेर कुल ८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यस निर्वाचनमा नेकपाबाट भीम रावल, नेकपा एमालेले दिपक बहादुर साउद, नेपाली काँग्रेसबाट भरत कुमार स्वार उम्मेदवार बनेका छन् । त्यस्तै रास्वपाबाट ओमप्रकाश रावल, राप्रपाबाट लोकेन्द्र बहादुर शाह, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र शाही, नेकपा माओवादी लोकेन्द्र बहादुर शाही र स्वतन्त्र भिम बहादुर कुँवर उम्मेदवार बनेको छ ।
भीम रावल ‘कमब्याक’को दाउमा
गत निर्वाचन एमालेले एकल सिफरिस गर्दा पनि पार्टीले टिकट नदिएपछि उनी राष्ट्रिय राजनीतिबाट टाढाँ हुन पुगेका थिए । एमालेले पार्टीबाट निष्कासित गरेपछि उनी केही समय कुनै पनि दलमा लागेका थिएनन् । माओवादी केन्द्र र समाजवादीसहितका पार्टीहरूको एकतामा सामेल हुँदै उनी नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध भएका हुन् ।
शुदुरपश्चिमबाट शेरबहादुर देउवापछिको प्रभावशाली मानिएका भीम रावललाई एमालेले पाखा लगाएपछि एमालेको पनि प्रभाव घटेको जानकारहरु बताउँछन् । रावलले राष्ट्रियताका विषयमा प्रखर व्यक्ता को छवि भएका व्यक्ति हुन् ।
अछाम-१ बाट ४८ यता भीम रावल दुई पटक र शेर बहादुर कुँवर दुई पटक विजयी भएका थिए । त्यस्तै एक पटक गोविन्द बहादुर शाहले एक पटक चुनाव जितेका छन् ।
यसअघि गठबन्धन गरेर चुनाव हुने गरेकोमा यस पटक अलग अलग दलहरू चुनावमा भएकोले दल र उम्मेदवारको असली परीक्षा अछाम-१ मा पनि हुने देखिएको छ । नेकपाका हाइप्रोफाइल नेता भएकाले उनी चुनाव जित्ने सम्भावना भएका नेता हुन् । तर यस पटक गठबन्धन नभएकाले दल र नेताको प्रभावका आधरमा चुनावको नतिजा आउने छ ।











